काठमाडौँ । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सैन्य सहकार्य र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने परम्परा छ।
यसअघि सेठले प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता गरी सैन्य सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गरेका थिए। उनले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका छन्।
सेठ बुधबार भारत फर्कने कार्यक्रम छ।








