धनकुटा । धनकुटाको निसान मन्दिर परिसरमा राखिएको एउटा ठूलो र अनौठो संरचनाले यतिबेला मन्दिरमा आउने आगन्तुकको ध्यान आकर्षित गरेको छ। सयौं साना घण्टी एकसाथ जोडेर तयार पारिएको यो संरचना ‘महाघण्टी’ नामले चिनिन्छ, र मन्दिर परिसरमा पुग्ने प्रायः सबैजसो पर्यटकले यसैको अगाडि उभिएर तस्बिर खिच्ने गरेका छन्।
निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेका अनुसार महाघण्टीमा ५०० भन्दा बढी घण्टी जोडिएका छन् र यसको समग्र तौल १५० किलोग्रामभन्दा बढी छ।
घिमिरेले महाघण्टी बनाइनुको पछाडिको कारण खुलाउँदै भने, “मन्दिर पुनर्निर्माणको क्रममा २०७७ सालमा यो महाघण्टी बनाइएको हो। परिसरमा रहेका साना घण्टीहरूको व्यवस्थापन गाह्रो हुँदै गएपछि तिनलाई हटाउने योजना बनेको थियो। तर त्यसो गर्दा ऐतिहासिक मूल्य भएका पुराना घण्टी नै लोप हुने खतरा देखिएपछि, तिनलाई जोगाउने उपायका रूपमा यो महाघण्टी निर्माणको विचार आयो।”
यस संरचनामा विसं १९३१ भन्दा पुराना घण्टीसमेत सुरक्षित रहेको घिमिरेले जनाए। उनका भनाइमा, यसले एकातिर पुरानो सम्पदा जोगाएको छ भने अर्कोतिर मन्दिरको सौन्दर्य र पहिचानलाई पनि थप बलियो बनाएको छ।
“साना घण्टीलाई एउटै संरचनामा जोडेर बनाइएको महाघण्टी अहिले निसान मन्दिरको छुट्टै पहिचान बनेको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरमा आउने आगन्तुकका लागि यो घण्टी फोटो खिच्ने आकर्षक गन्तव्यसमेत बनेको छ,” उनले थपे।
निसान मन्दिरको स्थापना पूर्वी नेपालको प्रशासनिक र सैनिक इतिहाससँग गाँसिएको छ। इतिहासकारहरूका अनुसार विसं १८४१ मा प्रसादसिंह बस्नेत पूर्वी क्षेत्रको प्रशासनिक जिम्मेवारी लिएर धनकुटा आउँदा नै जङ्गी निसानको स्थापना भएको थियो। हाल पनि मन्दिरमा नेपाली सेनाबाट नियमित पूजाआजा हुँदै आएको छ र त्यहाँ सेनाकै एक पुजारी खटिने व्यवस्था छ।
धार्मिक आस्था र इतिहास दुवैको सम्मिश्रण भएको यो मन्दिरमा महाघण्टीको थपले पुराना घण्टी जोगाउने काम मात्र गरेको छैन, बरु धनकुटाको पर्यटकीय पहिचानलाई थप समृद्ध बनाएको छ।








