बाढी प्रभावित बालबालिकाका तस्बिर, भिडियो सामाजिक सञ्जालमा नराख्न परिषद्को आग्रह

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाका तस्बिर र भिडियो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले मंगलबार जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका तस्बिर र भिडियो सार्वजनिक नगर्न भनिएको छ। सूचनाले बालबालिकाको गोपनीयता र मर्यादा जोगाउनुपर्ने आवश्यकतालाई आधार बनाएको छ।

परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप र एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम सञ्चालक, सरोकारवाला निकाय र सङ्घसंस्थासँग पीडित तथा प्रभावित बालबालिकासम्बन्धी सामग्री प्रविष्ट नगर्न/नगराउन अनुरोध गरेको छ।

राष्ट्रिय बाल अधिकार परिषद् बालबालिकाको अधिकार संरक्षणसम्बन्धी राज्यको केन्द्रीय निकाय हो। यसअघि पनि विभिन्न विपद् तथा दुर्घटनाका घटनामा प्रभावित बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक नगर्न परिषद्ले पटक-पटक अपिल गर्दै आएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest