काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु १ खर्ब ५० अर्ब ३७ करोड २९ लाख बराबरको ठूलो क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीप्रभावित क्षेत्रको पुनरुत्थानका लागि मात्रै रु ५० अर्ब ७७ करोड ३५ लाख बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्राधिकरणको विवरणअनुसार कुल क्षतिमध्ये आर्थिक गतिविधि र सर्वसाधारणको जीवनयापनको क्षेत्रमा सबैभन्दा बढी अर्थात् ९७.२२ प्रतिशत असर परेको छ। यसबाहेक पशुधनमा ०.९६ प्रतिशत, कृषिमा ०.७३ प्रतिशत र बैङ्किङ क्षेत्रमा ०.६१ प्रतिशत क्षति पुगेको छ।
बाढीका कारण ४,८०० वटा व्यापार-व्यवसाय प्रभावित भई रु १ खर्ब ६ अर्ब १९ करोडको नोक्सानी भएको छ भने सो क्षेत्रको पुनरुत्थानमा रु ४५ अर्ब ४५ करोड लाग्ने अनुमान छ। यस्तै, १,८०६ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बाली नष्ट भई रु १ अर्ब ९ करोड ३० लाखको क्षति भएको छ।
माछापालन, पशुपालन र कुखुरापालन व्यवसायमा रु ७१ करोड तथा बैङ्कका १७ वटा शाखा कार्यालयहरूमा रु ९१ करोड ९९ लाख बराबरको नोक्सानी पुगेको छ। बाढीले उत्पादन र जीवनयापनका बहुआयामिक क्षेत्रलाई अस्तव्यस्त बनाएकाले शीघ्र पुनःस्थापना र आर्थिक पुनरुत्थानका कार्यक्रम अघि बढाउनुपर्ने देखिएको छ।








