उत्तरी गाजामा इजरायली हवाइ आक्रमण: दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु

गाजा सिटी । उत्तर गाजा स्ट्रिपको बेत लाहिया प्रोजेक्ट क्षेत्रमा इजरायली सेनाले गरेको हवाइ आक्रमणमा परी दुई बालबालिकासहित एकै परिवारका चार जनाको ज्यान गएको छ। गाजा सिटीस्थित अल-सिफा अस्पतालका अनुसार ज्यान गुमाउनेहरूमा मोमेन अहमद, उहाँकी पत्नी हनिन तथा उहाँहरूका १२ र ८ वर्षका दुई बालबालिका रहेका छन्। आक्रमणका कारण अहमद परिवारका सदस्यहरूको शव छिन्नभिन्न अवस्थामा उद्धार गरिएको अस्पतालका प्रतिनिधिले जानकारी दिएका छन्।

घटनाबारे फ्रान्सिसी समाचार एजेन्सी (एएफपी) ले सोधेको प्रश्नमा इजरायली सेनाले विवरणहरू अनुसन्धान भइरहेको बताएको छ।

हमास नियन्त्रित गाजाका सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धविमानहरूले मध्यराति बेत लाहिया र जबालिया शरणार्थी शिविरको मध्यभागमा आक्रमण गरेका थिए। यसका साथै इजरायली बलले विस्थापित नागरिकहरू बसेका त्रिपाल र एम्बुलेन्सहरूलाई लक्षित गरी गोलीबारी गरेको बताइएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सम्पूर्ण हातहतियार नबुझाएसम्म र गाजाबाट पूर्ण रूपमा आत्मसमर्पण नगरेसम्म आक्रमण जारी रहने र सेना फिर्ता नहुने स्पष्ट पार्दै आउनुभएको छ। इजरायली सेनाले गत आइतबार गाजामा सैन्य टोलीमाथि विष्फोटक पदार्थ राख्न खोजेको दाबी गर्दै सबी हद्र अल-अथम अल-बत्रिहीलाई मारिएको जनाएको थियो।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो युद्धविराम घोषणा भएयता इजरायली आक्रमणमा परी १,३०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। सोही अवधिमा इजरायली सेनाका पाँच सैनिक र एक नागरिक ठेकेदारको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x