नोबेल विजेता नर्गेस मोहम्मदी अस्पतालको बसाइपछि घर फिर्ता, स्वास्थ्य स्थिति गम्भीर

तेहरान ।  इरानकी मानवअधिकारवादी तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी अस्पतालमा लामो समय उपचार गराएपछि आइतबार तेहरानस्थित आफ्नै घर फर्किएकी छन्। इरानी महिला अधिकारका लागि सङ्घर्षरत ५४ वर्षीया मोहम्मदीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि गत मे १० मा जमानतमा रिहा गरी अस्पताल भर्ना गरिएको थियो। उनको परिवार र शुभचिन्तकहरूले सोमबार यसको पुष्टि गरेका हुन्।

मोहम्मदीको फाउन्डेसनले जारी गरेको विज्ञप्ति अनुसार, १८ दिन जेल अस्पतालमा र थप १८ दिन तेहरानको विशेष अस्पतालमा उपचार गरेपछि उनलाई डिस्चार्ज गरिएको हो। सन् २०२३ को नोबेल पुरस्कार विजेता मोहम्मदी मुटु र रक्तचापको समस्याबाट पीडित छिन्। चिकित्सकहरूका अनुसार उनको यो स्वास्थ्य समस्या ‘लामो र गम्भीर मनोवैज्ञानिक दबाब, दीर्घकालीन चिन्ता तथा तीव्र वातावरणीय तनाव’ का कारण उत्पन्न भएको हो। चिकित्सकहरूले उनलाई घरमै पूर्ण आराम गर्न सल्लाह दिएका छन्।

पेरिसमा बस्दै आएकी मोहम्मदीकी छोरी कियाना रहमानीले आमाको पूर्ण स्वास्थ्यलाभका लागि कारागार बाहिरै कडा चिकित्सा निगरानीको माग गरेकी छन्। उनले भनिन्, “उहाँलाई हिरासतमा फर्काउनु मृत्युदण्डको सजाय दिनु बराबर हो।”

एक दशकभन्दा बढी समयदेखि आमालाई भेट्न नपाएकी रहमानीले मोहम्मदीमाथि लगाइएका सबै आरोपहरू स्थायी रूपमा खारेज हुनुपर्ने र उत्पीडनको अन्त्य हुनुपर्ने माग समेत गरेकी छन्। मोहम्मदीका कानुनी प्रतिनिधिहरूका अनुसार सुरक्षा सम्बन्धी विभिन्न आरोपहरूमा उनले अझै १८ वर्षको जेल सजाय भोग्न बाँकी छ।

मोहम्मदीका समर्थक र कानुनी टोलीले इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीचको सैन्य तनावका कारण उनको स्वास्थ्यमा थप प्रतिकूल असर परेको दाबी गरेका छन्। उनी थुनिएको कारागार नजिकै कम्तीमा तीन पटक हवाई आक्रमणहरू भएका कारण उनले अत्यधिक मानसिक तनाव झेल्नुपरेको र जेलभित्रै दुई पटकसम्म हृदयघात भएको समर्थकहरूको भनाइ छ।

विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी मोहम्मदीलाई सबैभन्दा पछिल्लो पटक गत डिसेम्बरमा एक वकिलको अन्त्येष्टि कार्यक्रममा इस्लामिक गणतन्त्र इरानको निन्दा गरेको आरोपमा पक्राउ गरिएको थियो।

उनले सन् २०२२ र २०२३ मा इरानी कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि चर्किएको देशव्यापी आन्दोलनको कडा समर्थन गरेकी थिइन्। अधिकारवादी समूहहरूका अनुसार, इरानमा पछिल्लो समय राजनीतिक बन्दीहरूलाई मृत्युदण्ड दिने क्रम बढेको छ भने जनवरीमा भएको प्रदर्शन र क्षेत्रीय तनावका क्रममा दशौँ हजार नागरिक पक्राउ परेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x