लन्डन ।अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट आएको छ । मध्यपूर्वमा जारी तनाव कम हुने र तेल आपूर्तिमा सुधार आउने अपेक्षाका कारण सोमबार कारोबार सुरु हुनासाथ लगानीकर्ताहरूले बिक्री बढाउँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले ओरालो लागेको हो । जुलाई महिनाका लागि तय भएको पश्चिम टेक्सास मध्यवर्ती (WTI) कच्चा तेलको मूल्य प्रति ब्यारेल ५.३५ अमेरिकी डलर अर्थात् ५.५३ प्रतिशतले घटेर ९१.२५ डलरमा झरेको थियो । त्यसैगरी, अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल ५.५७ अमेरिकी डलर अर्थात् ५.३८ प्रतिशतको गिरावटसँगै ९७.९७ डलरमा आइपुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार इरानसँगको शान्ति सम्झौताको खाका धेरै हदसम्म तयार भइसकेको उल्लेख गरे पनि अन्तिम सहमतिका लागि अमेरिका, इरान र मध्यपूर्वका अन्य मुलुकहरूबीच अझै थप छलफल आवश्यक रहेको बताएका छन् । प्रस्तावित सम्झौतामा ६० दिनका लागि युद्धविराम विस्तार गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने, इरानमाथिको प्रतिबन्ध खुकुलो पार्दै पुनः तेल बिक्रीको अनुमति दिने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने जस्ता मुख्य बुँदाहरू समेटिएका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य खोल्ने कदम चालेमा अमेरिका आणविक कार्यक्रमबारे गम्भीर वार्ता गर्न तयार रहेको स्पष्ट पारेका छन् भने इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाजले उक्त जलमार्ग पार गरेको जानकारी दिँदै सो मार्ग आंशिक रूपमा सञ्चालनमा आइसकेको सङ्केत गरेको छ ।
बजारमा तत्काल उत्साह देखिए पनि ऊर्जा विश्लेषकहरू भने ढुवानी र उत्पादनको अवस्था तत्कालै युद्धपूर्वको स्थितिमा फर्कन कठिन रहेको बताउँछन् । उत्पादन संरचनामा पुगेको क्षति, क्षेत्रीय अवरोध र ढुवानीका प्राविधिक समस्याहरू अझै पूर्ण रूपमा समाधान नभएको उनीहरूको विश्लेषण छ । माग र आपूर्तिबीचको असन्तुलन तत्काल नहट्ने भएकाले तेलको मूल्य अझै केही समय उच्च नै रहने र बजार पूर्ण रूपमा पुरानै लयमा फर्कन सन् २०२७ सम्म लाग्न सक्ने विश्लेषकहरूको अनुमान छ ।








