काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीका कारण पाँच जिल्लाका १५ स्थानीय तहमा ६४ हजारभन्दा बढी नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १६ हजार ११० घरधुरीका कुल ६४ हजार ३३५ जना बाढीबाट प्रभावित भएका हुन्। प्राधिकरणको प्रतिवेदनअनुसार बाढीका कारण प्रत्यक्ष रूपमा ८ हजार ३१७ घरधुरीका ३२ हजार ९६३ जनसङ्ख्या प्रभावित भएका छन्, जसमा १६ हजार ७६९ पुरुष र १६ हजार १९२ महिला रहेका छन्।
जिल्लागत रूपमा हेर्दा रसुवाका गोसाइँकुण्ड, कालिका, आमाछोदिङ्मो र उत्तरगया गरी चार गाउँपालिकाका १६ वटा वडा प्रभावित भएका छन्, जहाँ २ हजार २१६ भवनमा क्षति पुग्दा २ हजार ३३६ घरधुरीका ९ हजार २६६ जना प्रभावित भएका छन्।
नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकाका २१ वटा वडा प्रभावित भएका छन्, जसमा सर्वाधिक क्षति विदुर नगरपालिकामा भई ५ हजार २२८ भवन र ५ हजार ९२८ घरधुरीका २३ हजार २३० मानिस प्रभावित छन्।
धादिङका बेनीघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेक गाउँपालिकाका १९ वटा वडाका तटीय क्षेत्रका ३ हजार १९५ भवन र ३ हजार ९२२ घरधुरीका १४ हजार १९० नागरिक प्रभावित भएका छन्।
गोरखाका गण्डकी र सहिद लखन गाउँपालिकाका १० वटा वडाका ७३१ भवन र ७६३ घरधुरीका ३ हजार २९ मानिस प्रभावित भएका छन् भने चितवनको इच्छाकामना गाउँपालिकाका चार वटा वडामा बाढीले ७९६ भवन र ९१० घरधुरीका ४ हजार ९० नागरिकलाई प्रभावित पारेको छ।








