युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट क्षतिग्रस्त ‘ड्रुज्बा’ तेल पाइपलाइनको मर्मत कार्य सम्पन्न भएको र यो पुनः सञ्चालनका लागि तयार रहेको बताएका छन्। मङ्गलबार जारी विज्ञप्तिमा उनले युक्रेनी भूभागमा पर्ने पाइपलाइनको खण्ड मर्मत भइसकेको जानकारी दिँदै तत्कालै तेल आपूर्ति सुचारु गर्न सकिने उल्लेख गरे। रुसबाट युक्रेन हुँदै हङ्गेरी र स्लोभाकियासम्म तेल पुर्याउने यो पाइपलाइन गत जनवरीमा रुसी आक्रमणका कारण बन्द भएको थियो। यसैबिच, हङ्गेरीका नेता भिक्टर ओर्बानले युक्रेनका लागि रोकिएको ९ करोड युरो ऋण खुला गर्ने संकेत गरेसँगै युरोपेली सङ्घ र युक्रेनबिचको आर्थिक गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ।
जेलेन्स्कीले पाइपलाइन मर्मत भए पनि मस्कोले पुनः ऊर्जा पूर्वाधारमा आक्रमण गर्न सक्ने चेतावनी दिँदै युरोपलाई रुसी ऊर्जामाथिको निर्भरता घटाउन र प्रतिबन्धहरू कडा पार्न आग्रह गरेका छन्। हङ्गेरी र स्लोभाकियाले यसअघि किएभले मर्मतमा ढिलाइ गरेको आरोप लगाए पनि अहिले बुडापेस्टले आफ्नो ‘भिटो’ हटाउने आशा बढेको छ। युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले बुधबार युक्रेनका लागि रोक्का गरिएको कोष जारी गर्ने विषयमा अन्तिम निर्णय लिने तयारी गरेका छन्, जसले गर्दा ऊर्जा आपूर्ति र आर्थिक सहयोग दुवै पक्षमा सकारात्मक नतिजा आउने सम्भावना देखिएको छ।








