मुस्ताङ ।आगामी भदौ ३० र ३१ (सेप्टेम्बर १५–१६) गते मुस्ताङमा आयोजना हुन गइरहेको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ। विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनको असरबारे स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म साझा धारणा बनाउन घरपझोङ गाउँपालिकाले सम्मेलनको तयारी तीव्र पारेको हो।
हिमाल पारिको जिल्ला मुस्ताङ जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। हरितगृह ग्यास उत्सर्जन र विश्वव्यापी तापमान वृद्धिका कारण यहाँका हिमनदी पघ्लिने, बेमौसमी बाढी-पहिरो जाने, खानेपानीका मुहान सुक्ने र कृषि तथा पशुपालनमा गम्भीर असर पर्ने जस्ता समस्याहरू देखिन थालेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार नेपालका हिमाली, पहाडी र तराई क्षेत्रले भोगिरहेका जलवायु सङ्कट र यसका जोखिम न्यूनीकरण तथा अनुकूलनका उपायहरूबारे सम्मेलनमा गहन छलफल हुनेछ। नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षति र भविष्यमा पर्न सक्ने सम्भावित जोखिमप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको बस्नेतले जानकारी दिए।
सम्मेलनमा सहभागी हुन देशका सबै ७५३ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूलाई निमन्त्रणा पठाइसकिएको छ। साथै, ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख तथा सातै प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिवहरूलाई समेत निमन्त्रणा गरिएको गाउँपालिकाले जनाएको छ।
जोमसोमस्थित कभर्ड हलमा आयोजना हुने यस ऐतिहासिक सम्मेलनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका पदाधिकारीका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत सङ्घ-संस्थाका प्रतिनिधि गरी २,००० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ। सम्मेलनको समापनमा हिमाली भेगको साझा प्रतिबद्धता समेटिएको ‘घरपझोङ घोषणापत्र २०८३’ जारी गरिनेछ।








