काठमाडौँ । सगरमाथा आरोहणको यात्रा चित्रण गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर शो शनिबार ठमेलस्थित छाया सेन्टरको क्युएफएक्स हलमा भयो। कार्यक्रममा सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि र कलाकार सहभागी थिए।
निर्देशक निर्मल श्रेष्ठका अनुसार तीन विशेष शोमध्ये एउटा विद्यालय तथा क्याम्पस सञ्चालक र प्रधानाध्यापकहरूका लागि छुट्याइएको थियो। कम्प्युटर-सिर्जित दृश्यविना बनेको ५० मिनेट लामो यस वृत्तचित्रले समुद्री सतहदेखि सगरमाथा शिखरसम्मको यात्रा, पर्वतारोहणका चुनौती, शेर्पा समुदायको योगदान र जलवायु परिवर्तनको प्रभावलाई देखाएको छ।
पचास वर्ष उमेरका राज गुरुङको सगरमाथा आरोहण यात्रालाई मुख्य कथावस्तु बनाइएको यस वृत्तचित्रमा आरोही फुर्वा तेन्जिङ शेर्पा, निमा ग्याल्जेन शेर्पा, विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक श्रेष्ठको प्रत्यक्ष सहभागिता छ। लेखन सञ्चारकर्मी सन्तोष आचार्य र श्रेष्ठले गरेका हुन्।
निर्देशक श्रेष्ठले भने, “सगरमाथा केबल एउटा हिमाल होइन। यो नेपाली साहस, सपना, सङ्घर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो।”
निर्माता संस्था विविल राइज फाउण्डेसनका अध्यक्ष तुलसी गुरुङका अनुसार सगरमाथाको वास्तविक अर्थ नेपाली दृष्टिकोणबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले यो वृत्तचित्र बनाइएको हो। नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार गरिएको यसले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ। निर्माण पक्षका अनुसार अब यसलाई देशभरका विभिन्न स्थानमा र अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।








