काठमाडौँ । हालैको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्निर्माणका लागि जर्मनीले नेपाललाई ८० लाख युरो (करिब १ अर्ब २० करोड रुपैयाँभन्दा बढी) वित्तीय तथा प्राविधिक सहायता उपलब्ध गराएको छ।
काठमाडौँस्थित जर्मन दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यो सहयोगले आपत्कालीन मानवीय आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन पुनर्निर्माण र उत्थानशीलताका प्रयासहरूलाई सघाउनेछ।
जर्मनीले आपत्कालीन राहत सामग्रीका लागि ५ लाख युरोभन्दा बढी मूल्यको सहयोग उपलब्ध गराएको छ। युरोपेली सङ्घको ‘नागरिक सुरक्षा संयन्त्र’ मार्फत नेपाल सरकारको अनुरोधमा त्रिपाल, भान्छाका सामान, झुल, खानेपानी आपूर्ति सम्बन्धी उपकरण र क्याम्प बेड जस्ता सामग्रीहरू हस्तान्तरण भइरहेका छन्।
त्यसैगरी प्रत्यक्ष मानवीय सहायताअन्तर्गत दुई नागरिक समाज संस्थामार्फत २० लाख युरो परिचालन गरिएको छ। जसमध्ये एउटा परियोजनाले विपद् प्रभावित सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्य तथा हेरचाहमा काम गर्नेछ भने दोस्रो परियोजनाले अस्थायी शिविरको अवस्था सुधार, पूर्वाधार पुनर्निर्माण र प्रभावित परिवारका लागि आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुर्याउनेछ।
विपद्को असर दीर्घकालीन हुने भएकाले जर्मनीको आर्थिक सहकार्य तथा विकास मन्त्रालय (BMZ) ले ‘जिआइजेड’ (GIZ) मार्फत थप ७३ लाख ५० हजार युरो विकास सहायता स्वरूप परिचालन गरेको छ।
यस सहयोगमार्फत स्वास्थ्य, ऊर्जा र खानेपानी क्षेत्रका संरचनाहरूको पुनर्स्थापना गरिनेछ। साथै भविष्यमा आउन सक्ने प्राकृतिक विपद्को सामना गर्न सक्ने जलवायु-उत्थानशील पूर्वाधार निर्माणमा नेपाललाई प्राविधिक सहयोग पुर्याइने दूतावासले जनाएको छ।
जर्मन दूतावासका अनुसार यो सहयोग दुई देशबीचको दीर्घकालीन साझेदारी र मानवीय मूल्यमान्यताप्रतिको प्रतिबद्धताको प्रतीक हो।








