वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचन पछि मात्र अन्त्य हुने दाबी गरेका छन्। तेहरानले अब धेरै समय प्रतिरोध गर्न नसक्ने भएकाले निर्वाचनलगत्तै युद्ध अन्त्य हुने ट्रम्पको भनाइ छ।
टेक्सस जानुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले निर्वाचनअघि इन्धनको मूल्य घट्ने सम्भावनासमेत नरहेको स्पष्ट पारेका छन्।
“इरानले निर्वाचनलाई प्रभाव पार्न र कमजोर नेतृत्व आओस् भन्ने चाहिरहेको छ,” ट्रम्पले भने, “तर चुनाव सकिनेबित्तिकै तेलको मूल्य तीव्र रूपमा घट्नेछ र युद्ध पनि अन्त्य हुनेछ।”
सातौँ महिनामा प्रवेश गरेको यो द्वन्द्वका कारण इन्धन र खाद्यान्नको मूल्य बढेपछि ट्रम्पको जनमत खस्किएको छ। यसअघि युद्ध केही हप्तामै सकिने दाबी गरेका ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टीभित्रबाट युद्ध अन्त्य गर्न दबाब बढिरहेको छ।
मध्यपूर्वमा इन्धन डिपो र तेल ट्याङ्करहरूमाथि आक्रमण तीव्र भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ। हालैका दिनहरूमा स्ट्रेट अफ होर्मुज वरपर अमेरिकी र इरानी सेनाबीच दोहोरो आक्रमण जारी रहेको छ।








