नुवाकोटमा विपद् प्रभावितलाई राहतः तीन तहको सरकारबीच सहकार्य गर्ने सञ्चारमन्त्री तिमिल्सिनाको प्रतिबद्धता

नुवाकोट । व्यवस्थापन समितिमार्फत गरिने प्राविधिक अध्ययनका आधारमा तीन तहका सरकारबीच सहकार्य गरी विपद् प्रभावितको माग सम्बोधन गरिने सञ्चारमन्त्री डा तिमिल्सिनाले स्पष्ट पारेका छन्।
“प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणसहित आवश्यक पूर्वाधारका संरचना निर्माण गर्नुपर्ने दायित्व रहेको छ। तत्काल र दीर्घकालीन योजना बनाई सोहीअनुसार प्रक्रिया अगाडि बढाउन सरोकार राख्ने सम्पूर्ण निकायबाट आवश्यक कदम अघि बढाउने विश्वास दिलाउँछौँ,” मन्त्री डा तिमिल्सिनाले भने।
बाढी र पहिरोबाट शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न बस्तीमा जोखिममा परेका घरपरिवार र क्षतिग्रस्त भौतिक संरचनाको अवलोकनपछि आगामी दिनमा समयमै पूर्वतयारीमा जोड दिन मन्त्री तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिए। शिवपुरी गाउँपालिका–५ स्थित खनेखर्कमा वीरबहादुर लामाको घरगोठमा पहिरोले जोखिम पुर्‍याएको थियो भने मध्यपहाडी लोकमार्गको पक्की पुलमा पनि क्षति पुगेको थियो।
लिखु–१ स्थित खहरे खोलामा आएको बाढीले स्थानीयस्तरमा पुर्‍याएको जोखिम र कृषिबालीमा भएको क्षतिको अवलोकनपछि प्रभावितलाई न्याय पुग्ने गरी संयुक्त सम्बोधन गरिने प्रतिबद्धता मन्त्री तिमिल्सिनाले जनाए। निरन्तर वर्षाका कारण नुवाकोट–१ का विभिन्न स्थानमा पुगेको क्षतिको अवलोकन र निरीक्षणमा मन्त्रीको सक्रियता देखिएको छ। अघिल्लो शनिबार उनले सूर्यगढी, ताँदी र दुप्चेश्वर गाउँपालिकाको पहिरोसहित जोखिम बस्तीको स्थलगत अवलोकन गरी आवश्यक निर्देशन दिएका थिए।
आफू निर्वाचित क्षेत्रका जनताको समस्या र गुनासा सुन्दै मन्त्री तिमिल्सिनाले सहयोग र सहजीकरणमा निरन्तर सक्रियता देखाइरहेकाले स्थानीय र जिल्लास्थित विपद् व्यवस्थापन समिति पनि चलायमान देखिएका छन्। यसका कारण मनसुनजन्य विपद्बाट प्रभावित बासिन्दाको समयमै उद्धार, राहत र व्यवस्थापनमा तीव्रता आएको छ। क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् र सिँचाइ कुलोलगायतका संरचना सञ्चालनमा ल्याई विपद्को अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको दैनिक जनजीवन सहज बनाउने प्रयास भइरहेको छ।

Shares
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x