इरानद्वारा द्वन्द्व समाधानका लागि नयाँ कूटनीतिक पहल

तेहरान ।  इरानले संयुक्त राज्य अमेरिकासँग जारी तनाव र द्वन्द्व समाधानका लागि नयाँ कूटनीतिक प्रस्ताव अघि सारेको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले एसिया र युरोपका विभिन्न मुलुकका समकक्षीहरूसँग टेलिफोन वार्ता गरी उक्त प्रस्तावबारे जानकारी गराएका हुन्।

शुक्रबार र शनिबार भएका वार्ताहरूमा अराघचीले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स र इटालीका अधिकारीहरूसँग क्षेत्रीय सुरक्षा र सम्भावित युद्धविरामका विषयमा छलफल गरे। उनले युरोपेली सङ्घका परराष्ट्र नीति प्रमुखसँग पनि यसबारे परामर्श गरेको इरानी विदेश मन्त्रालयले जनाएको छ।

 विदेश मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार अराघचीले अमेरिकी र इजरायली सैन्य गतिविधिले फारसको खाडी तथा होर्मुज जलडमरूमध्य क्षेत्रमा असुरक्षा बढाएको आरोप लगाएका छन्। “इरानले युद्ध सुरु गरेको होइन,” उनले भने, “यदि अमेरिकाले आफ्नो कडा नीति, धम्कीपूर्ण भाषा र उक्साउने कार्यहरू बन्द गर्छ भने इरान कूटनीतिक समाधानका लागि तयार छ।”उनले इरानी सशस्त्र बलहरू कुनै पनि सम्भावित खतराको सामना गर्न सक्षम रहेको चेतावनी दिँदै तनाव कम गर्न भूमिका खेल्ने क्षेत्रीय देशहरूको प्रशंसा समेत गरे।

 इरान र अमेरिकाबीचको तनाव फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहितका सहरहरूमा गरेको संयुक्त आक्रमणपछि चरम अवस्थामा पुगेको थियो। उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, उच्च सैन्य कमाण्डर र सर्वसाधारणको ज्यान गएको थियो। त्यसको प्रतिशोधमा इरानले इजरायल र अमेरिकी सैन्य अखडाहरूमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो।

यसअघि अप्रिल ८ मा युद्धविराम लागू गरिए पनि इस्लामाबादमा भएको इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीचको वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो। इरानी सरकारी सञ्चार माध्यमका अनुसार तेहरानले अहिले पाकिस्तानमार्फत नयाँ वार्ताको प्रस्ताव अगाडि बढाएको छ। यस प्रस्तावले दुई देशबीचको गतिरोध अन्त्य गर्नेमा विश्व समुदायले चासोका साथ हेरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x