नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १२ चैत – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिकका लागि विशेष अभियान सञ्चालन गरिनेछ। यसका लागि केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाइनेछ र सबै १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

आगामी वैशाख १ गतेदेखि मसान्तसम्म देशभरका ६ हजार ७४३ वडामा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। यस क्रममा प्रत्येक व्यक्तिले आफू सदस्य रहेकै वडाबाट मात्र सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

सदस्यता प्रक्रियापछि जिल्लास्तरीय प्रारम्भिक छानबिन समितिमा परेका उजुरीको छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनुपर्नेछ। केन्द्रले आवश्यक छानबिनपछि सदस्यताको टुंगो असार १५ गतेभित्र लगाउनेछ। अद्यावधिक भएका क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई असार मसान्तभित्र बुझाउने तालिका छ।

कार्यतालिकाअनुसार महाधिवेशनअन्तर्गत:

  • भदौ २ गते – वडा समिति सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गर्ने
  • भदौ ७ गते – गाउँ/नगरपालिका अधिवेशन
  • भदौ १७ गते – प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन
  • असोज २ र ३ गते – अन्य जिल्लाको जिल्ला अधिवेशन

महाधिवेशनका लागि तोकिएको मितिअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने पार्टीले जनाएको छ।

कार्यतालिका सार्वजनिक गर्दै पार्टीले विभिन्न १६ वटा निर्णयसमेत गरेको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x