किन्शासा । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा एबोला भाइरसको नयाँ महामारी तीव्र गतिमा फैलिन थालेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार देशको १७ औँ एबोला प्रकोपका क्रममा सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ भने १,३५४ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो १० दिनमा मात्रै करिब १ हजार नयाँ सङ्क्रमित थपिएका छन्। जुलाई १५ मा सङ्क्रमितको सङ्ख्या २ हजार पुगेकोमा हाल देशका पाँच वटा प्रान्तमा गरी कुल ३,०७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ। प्रयोगशाला परीक्षण र पहिचान प्रणालीमा सुधार गरिएकाले नयाँ सङ्क्रमितहरू छिटो पत्ता लागिरहेको अधिकारीहरूले जनाएका छन्।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोप ‘बुन्दिबुग्यो’ (Bundibugyo) प्रजातिको एबोला भाइरसका कारण फैलिएको हो। यो प्रजातिका लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा आधिकारिक उपचार उपलब्ध छैन।
विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार कुल सङ्क्रमितमध्ये करिब ९० प्रतिशत उत्तर-पूर्वी प्रान्त इटुरीमा फेला परेका छन्। लामो समयदेखि हिंसाग्रस्त रहेको यो क्षेत्र दक्षिण सुडान र युगान्डासँग जोडिएको छ।
स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको भन्दै थालेको हडतालका कारण केही अस्पतालहरूमा उपचार र नियन्त्रण प्रयास प्रभावित भएका छन्। विज्ञहरूका अनुसार यो प्रकोप अझै केही महिना जारी रहने सम्भावना छ।
शरीरका तरल पदार्थको सम्पर्कबाट सर्ने र आन्तरिक रक्तस्रावसहितको जोरो आउने एबोला रोगका कारण विगत ५० वर्षमा अफ्रिकाभर १५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
हाल वैज्ञानिकहरू बुन्दिबुग्यो प्रजातिविरुद्ध खोप र औषधि विकास गर्न सक्रिय छन्। अक्सफर्ड विश्वविद्यालयका अनुसार उक्त प्रजातिलाई लक्षित गरी तयार पारिएको प्रयोगात्मक खोप मानिसमा परीक्षणका लागि पहिलो समूहलाई दिइसकिएको छ। अन्य केही सम्भावित खोप तथा दुई वटा औषधिको द्रुत परीक्षण (Fast-track clinical trials) प्रक्रिया अगाडि बढाइएको छ।








