जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको १५-बुँदे शान्ति योजनालाई सार्वजनिक रूपमा अस्वीकार गरेका छन्। यद्यपि, दुवै देशका अधिकारीहरूबीच वार्ता अझै जारी रहेकाले नेतान्याहुको यो भनाइलाई नै अन्तिम निर्णयका रूपमा हेर्न नमिल्ने विश्लेषकहरूले बताएका छन्।
साप्ताहिक मन्त्रिपरिषद् बैठकका क्रममा बोल्दै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनी सशस्त्र समूह हमासको “पूर्ण र वास्तविक” निःशस्त्रीकरण नभएसम्म इजरायली सेना (IDF) गाजाबाट पछि नहट्ने अडान स्पष्ट पारेका छन्। उनले १५-बुँदे प्रस्तावका कतिपय शर्तहरू इजरायलका लागि अस्वीकार्य रहेको बताउँदै इजरायलको सुरक्षाका लागि राष्ट्रिय हितविपरीतका अडानविरुद्ध अमेरिकासँग पनि दह्रोसँग उभिने दाबी गरे।
अमेरिकी राष्ट्रपति ट्रम्पको ‘बोर्ड अफ पिस’ ले गत महिना अघि सारेको उक्त १५-बुँदे खाकामा हमासको निःशस्त्रीकरण र इजरायली सेनाको चरणबद्ध फिर्तालाई अन्तर्राष्ट्रिय संयन्त्रमार्फत सँगसँगै अघि बढाउने प्रस्ताव गरिएको छ। तर, नेतान्याहु र उहाँको सरकारका कट्टरपन्थी सहयोगीहरूले भने कुनै पनि सैन्य फिर्तीअघि हमासले आफ्ना साना-ठूला सबै हतियार पूर्ण रूपमा बुझाउनुपर्ने सर्त तेर्स्याएका छन्।
आउँदो अक्टोबरमा हुने इजरायली आमनिर्वाचन नजिकिँदै गर्दा घरेलु राजनीति, गठबन्धन जोगाउने दबाब र दक्षिणपन्थी मतदातालाई आश्वस्त पार्न नेतान्याहुले यस्तो कडा अभिव्यक्ति दिएको कूटनीतिक वृत्तमा हेरिएको छ।
अर्कोतर्फ, अमेरिकी बोर्ड अफ पिसका वरिष्ठ अधिकारीहरूले भने १५-बुँदे योजना नै गाजामा दीर्घकालीन शान्ति स्थापना गर्ने एक मात्र व्यावहारिक मार्ग भएको र यस विषयमा इजरायली पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएका छन्।








