इरानसँगको सम्भावित सम्झौता निष्कर्ष नजिक, ट्रम्पका सहयोगीहरूद्वारा आलोचना

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान र अमेरिकाबीच सम्भावित सम्झौताको तयारी अन्तिम चरणमा पुगेको संकेत मिलेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको सम्भावित सम्झौता आइतबारपछि सार्वजनिक हुन सक्ने बताएका छन्।

आफ्नो पहिलो भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले आगामी केही घण्टाभित्रै सकारात्मक समाचार आउन सक्ने सम्भावना रहेको उल्लेख गरे। इरान–अमेरिका–इजरायल तनावका कारण आंशिक रूपमा अवरुद्ध बनेको रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चिन्तालाई यो उदीयमान सम्झौताले सम्बोधन गर्ने दाबी विदेशमन्त्री रुबियोको छ। यस प्रस्तावित सम्झौताले अन्ततः इरानको आणविक हतियारसम्बन्धी अमेरिकी डरलाई पूर्ण रूपमा हटाउने प्रक्रियाको सुरुवात गर्ने उनले बताए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी खुला गर्ने विषयको छलफल ‘धेरै हदसम्म अघि बढेको’ उल्लेख गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले अमेरिका, इरान र अन्य देशहरूबीच अन्तिम सम्झौता तयार पार्ने प्रक्रिया नजिक पुगेको दाबी गरे।

यद्यपि, यो सम्भावित सम्झौताले अमेरिकाभित्रै तीव्र राजनीतिक बहस र विवाद सिर्जना गरेको छ। इजरायलका कट्टर समर्थक मानिने ट्रम्पकै निकट सहयोगीहरू—सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओले सम्भावित सहमतिको कडा आलोचना गरेका छन्। सम्झौताले इरानलाई ठूलो आर्थिक र रणनीतिक लाभ पुर्‍याउने भन्दै क्रुजले यस्तो परिणामलाई “विनाशकारी गल्ती” हुन सक्ने चेतावनी दिएका छन्।

आफ्नै दल र सहयोगीहरूबाट भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै विदेशमन्त्री रुबियोले इरानविरुद्ध सञ्चालित सैन्य अभियान ‘एपिक फ्युरी’ को उद्देश्य स्पष्ट रहेको भन्दै यसको बचाउ गरे। उक्त अभियानमार्फत इरानको नौसैनिक क्षमतामा ठूलो क्षति पुर्‍याइएको उनले दाबी गरे।

रुबियोका अनुसार अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने क्षमतालाई उल्लेखनीय रूपमा कमजोर बनाउने र उसको रक्षा-औद्योगिक संरचना भत्काउने लक्ष्य राखेको थियो। आफ्नो भनाइलाई जोड दिँदै रुबियोले भने: “‘एपिक फ्युरी’ अभियानका सबै प्रमुख उद्देश्यहरू पूरा भइसकेका छन्।”

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x