विश्वकप २०२६: इरानी टोलीका लागि फिफाको बहुप्रवेशी भिसाको अपेक्षा, अजमुनको सहभागिता अनिश्चित

तेहरान । इरानको फुटबल महासङ्घले सन् २०२६ को फिफा विश्वकपअघि आफ्नो राष्ट्रिय टोलीका लागि बहुप्रवेशी (मल्टिपल इन्ट्री) भिसाको व्यवस्था हुने अपेक्षा गरेको छ। महासङ्घका अध्यक्ष मेहदी ताजका अनुसार खेलाडीहरू अमेरिका प्रवेश गर्न र सहजै मेक्सिको फर्कन सक्ने वातावरण बनाउन फिफाले यस्तो भिसा उपलब्ध गराउने तयारी भइरहेको छ।

अमेरिकी भिसासँग सम्बन्धित सम्भावित जटिलताहरूबाट बच्न र इरान एयरको उडानमार्फत सिधै मेक्सिको यात्रा गर्न सहज होस् भनी इरानी टोलीले आफ्नो रणनीतिमा केही परिवर्तन गरेको छ। ‘टिम मेली’ को रूपमा चिनिने इरानी टोलीले सुरुमा अमेरिकाको एरिजोनास्थित टक्सनमा प्रशिक्षण शिविर राख्ने योजना बनाएको थियो। तर, पछिल्लो समय उक्त शिविर मेक्सिकोको तिजुआनामा सार्ने निश्चित भएको अध्यक्ष ताजले बताए। सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्।

मध्यपूर्वमा फेब्रुअरी २८ देखि सुरु भएको सैन्य तनाव र युद्धको पृष्ठभूमिमा विश्वकपमा इरानको सहभागिता लामो समयसम्म अनिश्चित बनेको थियो। तर, अहिले टोलीको मेक्सिको यात्रा र तयारी निश्चित भएको छ। इरान प्रतियोगिताको समूह ‘जी’ मा रहेको छ र उसले समूह चरणका सबै तीन खेल अमेरिकामा खेल्ने तालिका छ। इरानले जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। त्यसपछि उसले बेल्जियमसँग लस एन्जलसमै र इजिप्टसँग सियाटलमा प्रतिस्पर्धा गर्नेछ।

यसैबीच, इरानका चर्चित स्ट्राइकर सरदार अजमुनको राष्ट्रिय टोलीमा सहभागितालाई लिएर अन्योल सिर्जना भएको छ। अध्यक्ष ताजले अजमुनको पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको र टोलीका व्यवस्थापकले तयार पारेको प्रारम्भिक सूचीबाट उनको नाम हटाइएको बताएका छन्।

जर्मन क्लब बायर लेभरकुसेन र इटालेली क्लब एएस रोमाबाट खेलिसकेका अजमुनले यसअघि इरानमा भएका सरकार विरोधी प्रदर्शनको समर्थन गरेका थिए, जसका कारण उनले इरानी सरकारी सञ्चारमाध्यमहरूबाट आलोचना खेप्नुपरेको थियो। हाल दुबईमा बस्दै र त्यहीँ व्यावसायिक फुटबल खेल्दै आएका अजमुनको मार्चमा दुबईका शासकसँगको तस्बिर सार्वजनिक भएपछि विवाद थप बढेको थियो।

यद्यपि, उनलाई राष्ट्रिय टोलीमा पुनस्र्थापित गर्न राजनीतिक वृत्तबाट दबाब सुरु भएको छ। सोमबार इरानका एक उपराष्ट्रपतिले अजमुनलाई टोलीमा फर्काउन आह्वान गरेका छन्। यसै सन्दर्भमा अजमुनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विगतमा ‘अर्को देशको ठूलो वित्तीय प्रस्ताव’ अस्वीकार गरेको उल्लेख गर्दै आफूलाई ‘इरानको सन्तान’ भनेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x