किएभ । टर्कीमा आयोजना हुन लागेको नाटो शिखर सम्मेलनको केही समयअघि रुसले किएभ क्षेत्रमा भीषण ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ। सो आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। एक साताभित्र राजधानी र आसपासको क्षेत्रमा भएको यो दोस्रो ठूलो आक्रमण हो।
किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार, मिसाइल प्रहारबाट ४ वटा आवासीय भवनमा भीषण आगलागी भएको छ। मृत्यु हुनेमध्ये ७ जना बुचा जिल्लाका र १ जना राजधानी क्षेत्रका हुन्। हमलापछि राजधानीमा लगातार १० पटक भन्दा बढी विस्फोटका आवाज सुनिएको र आकाशमा तीव्र गतिविधि देखिएको एएफपीका संवाददाताले जनाएका छन्। मेयर भिटाली क्लिट्स्कोले हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको जानकारी दिँदै सर्वसाधारणलाई सुरक्षित आश्रयस्थलमा रहन आग्रह गरेका छन्।
मङ्गलबार अङ्कारामा सुरु हुने नाटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीच भेटवार्ता हुने तालिका छ। ह्वाइट हाउसका अनुसार, ट्रम्पले शान्ति प्रयासका लागि पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना बनाएका छन्। शनिबार मात्रै अमेरिकी स्वतन्त्रताको २५० औँ वार्षिकोत्सवका अवसरमा ट्रम्पले जेलेन्स्की र पुटिनसँग टेलिफोन संवाद गरेका थिए।
यसैबीच, युक्रेनले पनि रुसी ऊर्जा पूर्वाधारमाथि प्रहार तीव्र पारेको छ। क्रिमियाको सेवास्तोपोल नजिकको आक्रमणबाट विद्युत आपूर्ति प्रभावित भएको स्थानीय अधिकारीले जनाएका छन् भने मस्कोतर्फ आएका युक्रेनी ड्रोनहरू खसालेको दाबी मस्कोका मेयर सर्गेइ सोब्यानिनले गरेका छन्।
यता, राष्ट्रपति जेलेन्स्कीले कोस्ट्यान्टिनिभ्का सहर रुसको नियन्त्रणमा रहेको भन्ने दाबीलाई खारेज गरेका छन्। उनले नाटो शिखर सम्मेलन अगाडि मस्कोले थप ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी पनि दिएका छन्।








