न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका लागि फ्रान्सको स्थायी नियोगले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुखको पदावधि थप गर्ने मतदानका क्रममा अमेरिकाको अडानबारे सामाजिक सञ्जाल ‘एक्स’ (X) मा गरिएको आलोचनात्मक टिप्पणीप्रति औपचारिक खेद व्यक्त गरेको छ। फ्रान्सेली नियोगले सार्वजनिक गरेको क्षमायाचना पत्रलाई अमेरिकाले सकारात्मक रूपमा लिँदै स्वागत गरेको छ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर टर्कको पदावधि थप गर्ने प्रस्तावको विपक्षमा अमेरिकाले मतदान गरेपछि फ्रान्सेली नियोगले एक्समा ‘अमेरिका कुनै समय मानव अधिकारको ज्योतिपुञ्ज थियो, अब रहेन’ भन्दै टिप्पणी गरेको थियो। उक्त टिप्पणीपछि आक्रोशित बनेको अमेरिकाले फ्रान्सका लागि नयाँ अमेरिकी राजदूत ओरिलियन लेचेभेलियरको नियुक्ति स्वीकृति प्रक्रिया रोकेको थियो।
विवाद चर्किएपछि फ्रान्सेली नियोगले विज्ञप्ति जारी गर्दै एउटा मतदानको भिन्न मतले दुई देशबीचको ऐतिहासिक गठबन्धन, शान्ति र स्थिरताका लागि सहकार्य गर्ने क्षमतामा कुनै असर नपुर्याउने स्पष्ट पारेको छ। अमेरिकी विदेश मन्त्रालयका अधिकारीले फ्रान्सको यो पछिल्लो अभिव्यक्तिलाई स्वागत गर्दै साझा मूल्य र मान्यताका लागि मिलेर काम गर्न उत्सुक रहेको जनाएका छन्।