रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, व्यवसायीले बीमाको माग गरे

चन्द्रपुर (रौतहट), १० चैत । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटका ५० भन्दा बढी इँटा उद्योगको लाखौँ मूल्यबराबरको काँचो इँटा नष्ट गरेको छ। व्यवसायीहरूले काँचो इँटाको समेत बीमाको व्यवस्था गर्न माग गरेका छन्।

इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहका अनुसार बेमौसमी वर्षाका कारण जिल्लाका ५० उद्योगमा क्षति पुगेको हो। ती उद्योगमा करिब एक करोड ५० लाख काँचो इँटा नष्ट भएको छ। प्रत्येक काँचो इँटाको उत्पादन लागत औसतमा तीन रुपैयाँभन्दा बढी हुने भएकाले कुल क्षति करिब साढे चार करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ।

बिके, वीर, पूजा, एमबिआई, सोना, रामजानकी लगायतका उद्योगमा वर्षाले क्षति पुर्याएको छ। गरुडा–५ महम्मदपुरस्थित एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहेका अध्यक्ष साहले खुला स्थानमा सुकाउन राखिएका काँचो इँटा वर्षाले नष्ट गरेको गुनासो गरे।

इँटा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य मोहन साहले काँचो इँटाको समेत बीमाको व्यवस्था गरिदिन माग गरेका छन्। गुजरा–७ स्थित रामजानकी इँटा उद्योगका सञ्चालक रहेका उनले बेमौसमी वर्षाका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए। सरकार वा सम्बन्धित निकायले काँचो इँटाको बीमा प्रणाली अवलम्बन गरे प्राकृतिक प्रकोपबाट व्यवसायीले राहत पाउने उनको भनाइ छ।

राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशङ्कर यादवले पनि आफ्नो उद्योगमा लाखौँ मूल्यबराबरको काँचो इँटा नष्ट भएको गुनासो गरे। एउटा काँचो इँटा उत्पादन गर्न माटो, पानी, मजदुरी लगायतको लागत जोड्दा औसतमा तीन रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए।

जिल्लामा १६० इँटा उद्योग दर्ता भए पनि हाल ५७ उद्योग मात्र सञ्चालनमा छन्। पछिल्लो समय इँटा उद्योग बन्द गर्ने क्रम बढेको छ। गत वर्ष पनि बेमौसमी वर्षाले इँटा उद्योगमा क्षति पुर्याएको थियो तर काँचो इँटाको बीमाको व्यवस्था नहुँदा व्यवसायीले क्षतिपूर्ति पाउन सकेका छैनन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x