काठमाडौँ । भदौ १० गते (अगस्ट २६) भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयहरूमा ठूलो क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले तयार पारेको ‘दुरुत क्षति तथा आवश्यकता आकलन’ (RDNA) प्रतिवेदन अनुसार बाढीबाट ११ वटा विद्यालय पूर्ण रूपमा नष्ट भएका छन्, जसबाट कुल रु ९३ करोड ७० लाख बराबरको भौतिक नोक्सानी भएको छ। बाढीका कारण प्रभावित १८ वटा विद्यालयका कुल ५६ वटा भवनमा क्षति पुगेको छ भने १५२ वटा कोठामा आंशिक क्षति र १५६ वटा कोठाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।
जिल्लागत विवरण अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको एक र उत्तरगया गाउँपालिकाका तीन गरी चार वटा विद्यालयमा क्षति पुगेको छ। नुवाकोटको विदुर नगरपालिकाका मात्रै नौ वटा विद्यालयहरू बाढीबाट प्रभावित भएका छन्। त्यसैगरी धादिङको गल्छी गाउँपालिकाका तीन, बेनीघाट रोराङ गाउँपालिकाको एक र सिद्धलेक गाउँपालिकाको एक विद्यालय (जसका चार वटा भवन) गरी कुल पाँच विद्यालयमा नोक्सानी भएको छ। बाढीबाट क्षतिग्रस्त भएका यी सम्पूर्ण विद्यालयहरूको पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारलाई करिब रु ४ अर्ब २३ करोड बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।








