‘अपरेसन सिन्दूर’ को एक वर्ष: आतङ्कवादविरुद्धको नीतिमा अडिग रहने प्रधानमन्त्री मोदीको उद्घोष

नयाँदिल्ली । भारत र पाकिस्तानबीच भएको भीषण सैन्य तनावको एक वर्ष पूरा भएको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने संयन्त्रविरुद्ध भारतको कठोर अभियान जारी रहने बताएका छन्। भारत आफ्नो सुरक्षा नीतिमा स्पष्ट रहेको उल्लेख गर्दै उनले गत वर्षको पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गरे ।

 गत वर्ष अप्रिल २२ मा काश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि दुई मुलुकबीचको सम्बन्ध बिग्रिएको थियो. भारतले सो आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाए पनि इस्लामाबादले त्यसलाई अस्वीकार गर्दै आएको छ।

सोही घटनाको प्रतिशोधस्वरूप भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका ‘आतङ्कवादी शिविर’ लक्षित सैन्य कारबाही सुरु गरेको थियो, जसलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । बिहीबार सो अभियानको एक वर्ष पुगेको सन्दर्भमा वक्तव्य जारी गर्दै मोदीले भने, “आतङ्कवादलाई परास्त गर्ने र त्यसलाई सहयोग गर्ने सम्पूर्ण इकोसिस्टम ध्वस्त पार्ने हाम्रो सङ्कल्प अझै दृढ छ”।

 सरकारले ‘सिन्दूर’ शब्दलाई राष्ट्रिय भावना र पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाहरूको पीडासँग जोडेर विशेष प्रतीकका रूपमा प्रयोग गरेको थियो। प्रधानमन्त्रीले भारतीय सेनाको साहसको प्रशंसा गर्दै राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

गत वर्षको चार दिने सैन्य टकरावमा दुवै पक्षका ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यस समयमा पाकिस्तानले तीनवटा राफेलसहित भारतका पाँच लडाकू विमान खसालेको दाबी गरेको थियो। यद्यपि, भारतले आफ्ना विमानमा पुगेको क्षतिबारे कुनै औपचारिक पुष्टि गरेको छैन।

 मे १० मा दुवै देशबीच युद्धविराम भएको थियो, जसको पहिलो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। भारतले यो युद्धविराम अमेरिकी मध्यस्थतामा नभई प्रत्यक्ष संवादमार्फत भएको दाबी गर्दै काश्मीर मुद्दालाई द्विपक्षीय विषयका रूपमा मात्र हेर्नुपर्ने अडान राख्दै आएको छ।

एक वर्ष बितिसक्दा पनि दुई देशबीचको सम्बन्धमा सुधार आउन सकेको छैन। सीमापार आतङ्कवाद र काश्मीर विवादका कारण उत्पन्न अविश्वासका बीच मोदीको पछिल्लो वक्तव्यले भारतको कठोर सुरक्षा नीति कायमै रहने सङ्केत गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x