वासिङ्टन डीसी — अमेरिकाले इरानविरुद्धको सैन्य कारबाहीलाई तत्कालका लागि थाती राख्दै युद्धविरामको अवधि लम्ब्याउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आन्तरिक राजनीतिक विभाजनलाई मुख्य कारण देखाउँदै पाकिस्तानी नेतृत्वको अनुरोधमा यस्तो कदम चालिएको जानकारी दिएका हुन्।
पाकिस्तानी सैन्य प्रमुख फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज शरीफले इरानी पक्षलाई एकताबद्ध प्रस्ताव ल्याउन समय दिन आग्रह गरेपछि अमेरिका पछि हटेको हो। ट्रम्पका अनुसार इरानका प्रतिनिधिहरूले कुनै ठोस र साझा धारणा नल्याएसम्म सैन्य आक्रमणको योजना स्थगित रहनेछ।
यद्यपि, सैन्य आक्रमण रोकिए पनि इरानी बन्दरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी भने साविक बमोजिम नै जारी रहनेछ। ह्वाइट हाउसले आफ्ना सुरक्षा निकायहरूलाई कुनै पनि समय कारबाही गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ। इरानी नेतृत्वबाट आउने प्रस्ताव र त्यसपछिको वार्ताको निष्कर्षले नै आगामी सैन्य रणनीति तय गर्ने देखिन्छ।








