पानामा । गत फेब्रुअरी २८ देखि हर्मुज जलसन्धि (Strait of Hormuz) को समुद्री नाका बन्द भएपछि करिब १,५०० भन्दा बढी मालवाहक जहाजहरू खाडी क्षेत्रमै रोकिएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (IMO) ले जनाएको छ।
पानामामा आयोजित एक कार्यक्रममा बोल्दै सङ्गठनका महासचिव आर्सेनियो डोमिङ्गेजले हाल लगभग २० हजार चालक दलका सदस्य र १,५०० जहाजहरू खाडीमा फसेको जानकारी दिएका हुन्। विश्वव्यापी रूपमा खपत हुने ऊर्जा र अन्य उत्पादनहरूको ठूलो हिस्सा यही समुद्री मार्गबाट ढुवानी हुने गरेको उनले उल्लेख गरे।
प्रभावित उद्योग व्यवसायी र समुद्री सङ्गठनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै डोमिङ्गेजले भने, “फसेका चालक दलका सदस्यहरू विभिन्न देशबाट नियमित कामका लागि निस्किएका निर्दोष व्यक्तिहरू हुन्। उनीहरू आफ्नो नियन्त्रणभन्दा बाहिरको भू-राजनीतिक परिस्थितिका कारण यस क्षेत्रमा फस्न पुगेका छन्।”
यसअघि हर्मुज जलसन्धि विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गका रूपमा चिनिँदै आएको थियो। तर पछिल्लो समय अमेरिका, इजरायल र इरानबीच बढेको सैन्य तनावका कारण यो मार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय व्यापार र आपूर्ति शृङ्खलामा गम्भीर असर परेको छ।








