वासिङ्टनसँग वार्ता नगर्ने इरानको घोषणा, युरोपेली युद्धपोतलाई ‘वैध निशाना’ बनाउने चेतावनी

तेहरान । इरानले अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै वासिङ्टनलाई आफ्ना सर्तहरू लाद्न नदिने बताएको छ। इरानी उपविदेशमन्त्री काजेम गरिबाबाडीले ओमानसँग भने ‘चरणबद्ध’ रूपमा छलफल अघि बढिरहेको जानकारी दिएका छन्।

इरानी सरकारी टेलिभिजन र ‘अल जजिरा’ लाई दिएको अन्तर्वार्तामा गरिबाबाडीले अमेरिकाले आफ्नो अनुकूलताअनुसार युद्ध र कूटनीति रोज्न नपाउने बताए। अमेरिकाले नै युद्ध रोक्न याचना गर्दै सन्देश पठाएको दाबी गर्दै उनले भने, “हामीले अमेरिकालाई आफ्नो मर्जीअनुसार आक्रमण गर्ने र मन लागेका बेला वार्ताको टेबलमा बस्ने बानी पर्न दिनु हुँदैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अनुरोधपछि मात्र सैन्य आक्रमण रोकिएको र नयाँ युद्धविराम सम्झौता नभए आक्रमण पुनः सुरु हुन सक्ने बताएपछि इरानको यो कडा प्रतिक्रिया आएको हो।

होर्मुज जलडमरूमध्यमा इरानले नयाँ वैकल्पिक तटीय मार्गहरूलाई मान्यता नदिने र बारुदी सुरुङ (माइन्स) हटाउने कार्य पूर्ण रूपमा तेहरानकै क्षेत्राधिकारभित्र रहने गरिबाबाडीले स्पष्ट पारे। प्रेस टिभीका अनुसार उक्त रणनीतिक जलमार्गमा हुने कुनै पनि बाह्य सैन्य हस्तक्षेपको कडा प्रतिवाद गरिने चेतावनी इरानले दिएको छ।

“होर्मुज जलडमरूमध्यनजिक आउने जुनसुकै युरोपेली युद्धपोत हाम्रा लागि वैध निशाना बन्नेछन्,” गरिबाबाडीले भने।

अमेरिका-इजरायल युद्धका क्रममा इरानको नियन्त्रणमा आएको होर्मुज जलडमरूमध्यलाई पुनः खुलाउने प्रयासमा केही युरोपेली राष्ट्रहरू अमेरिकातर्फ जोडिन सक्ने समाचारहरू सार्वजनिक भइरहेका बेला इरानको यो भनाइ आएको हो। गरिबाबाडीले उक्त जलडमरूमध्य अब युद्धपूर्वको अवस्थामा फर्किन नसक्ने र तेहरानले नयाँ रक्षात्मक क्षमता हासिल गरिसकेको दाबी गरे।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले सामुद्रिक व्यापारिक मार्गको सुरक्षाका लागि मध्यपूर्वमा २० भन्दा बढी अमेरिकी नौसेनाका युद्धपोतहरू परिचालन गरिएको जनाएको छ। सेन्ट्रल कमान्डका अनुसार जुलाई २८ सम्ममा १८ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराइएको, २ वटालाई निष्क्रिय पारिएको र २ वटा जहाजमा बोर्डिङ गरी निरीक्षण गरिएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest