हनोई । दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भियतनामी जहाज ‘खोई नुयेन १८’ (Khoi Nguyen 18) बाट उद्धार गरिएका ४८ जना नागरिकलाई भियतनामको मुख्यभूमितर्फ ल्याइँदैछ।
भियतनामी विदेश मन्त्रालयको नागरिक संरक्षण एकाइलाई उद्धृत गर्दै ‘भ्वाइस अफ भियतनाम’ ले जनाएअनुसार खोज तथा उद्धार कार्यका क्रममा सोमबार अपराह्नसम्म ४८ जनाको जीवितै उद्धार गरिएको छ। चिनियाँ टोलीले उद्धार गरी प्राथमिक उपचार गराएका ती नागरिकहरूलाई भियतनामी अधिकारीहरूसम्म सुरक्षित रूपमा हस्तान्तरण गरिसकिएको मन्त्रालयले पुष्टि गरेको छ।
दक्षिण चीन सागरको नान्सा (स्प्राटली) द्वीपसमूहअन्तर्गत योङ्सु रिफ (Fiery Cross Reef) नजिकै प्रतिकूल मौसमका कारण ६२ जना यात्रु तथा चालक दलका सदस्य बोकेको भियतनामी झण्डावाहक जहाज डुबेको थियो।
भियतनामी अधिकारीहरूले बाँकी बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी राखिएको जनाएका छन्।








