वासिङ्टन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्युयोर्क सहरका मेयर जोहरान मामदानीको कडा आलोचना गर्दै सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको साधारण सभामा भाग लिन आफू न्युयोर्क जाने स्पष्ट पारेका छन्। मेयर मामदानीले यहुदी नागरिकहरूप्रति द्वेष फैलाएको आरोप लगाउँदै नेतान्याहुले न्युयोर्क भ्रमणका क्रममा आफू पक्राउ पर्न सक्ने आशङ्काहरूलाई खारेज गरिदिएका हुन्।
‘फक्स न्युज’ का प्रस्तोता सन ह्यानिटीसँगको कुराकानीका क्रममा नेतान्याहुले न्युयोर्कका मेयरले समुदायहरूबीच विभाजन ल्याउने काम गरेको आरोप लगाए। “म सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको बैठकका लागि न्युयोर्क जाँदै छु। न्युयोर्कका यहुदीहरूविरुद्ध घृणा फैलाउने जनप्रतिनिधिको अगाडि उभिएर म सत्य बोल्ने छु,” नेतान्याहुले भने।
यसैबीच, न्युयोर्कका मेयर जोहरान मामदानीले नेतान्याहुसँग कुनै भनाभन वा आरोप-प्रत्यारोपमा उत्रिन आफू इच्छुक नरहेको बताएका छन्। ब्रोकलिनमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै मामदानीले भने, “मेरो मुख्य प्राथमिकता न्युयोर्कका यहुदी नागरिकका साथै प्रत्येक बासिन्दाको सुरक्षा गर्नु हो। यहुदी नागरिकहरू अल्पसङ्ख्यक भए पनि धेरैजसो घृणाजन्य अपराधका सिकार हुने गरेका छन्, जुन पूर्ण रूपमा अस्वीकार्य छ।”
नेतान्याहु न्युयोर्क आएमा अन्तर्राष्ट्रिय आपराधिक अदालत (ICC) को क्षेत्राधिकारअनुसार पक्राउ गरिनुपर्ने पूर्वअभिव्यक्तिका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी भए-नभएकोबारे सोधिएको प्रश्नमा मामदानीले उक्त कुराकानी राष्ट्रपति र आफूबीच नै सीमित रहने प्रतिक्रिया दिए।
म्यानहटनको ‘अपर वेस्ट साइड’ मा हालै भएको छुरा प्रहारको घटनालाई लिएर नेतान्याहुले मेयर मामदानीमाथि घृणा फैलाएको आरोप लगाएका थिए। उक्त घटनामा संलग्न ५१ वर्षीय राउल मोरालेसलाई घृणाजन्य अपराधअन्तर्गत ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ। अभियोजकहरूका अनुसार मोरालेसले एक एसियाली मूलका पुरुष र प्रार्थना घर (सिनगाग) बाट निस्किएका एक यहुदी पुरुषमाथि आक्रमण गरेका थिए।








