वासिङ्टन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध कडा प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकलाई अघि बढाउन अमेरिकी सिनेटले गरेको प्रक्रियागत मतदानको स्वागत गरेका छन्। ६० भन्दा बढी अमेरिकी सिनेटरहरूसँग छलफल तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि जेलेन्स्कीले यो निर्णयलाई ‘शान्तितर्फको पहिलो कदम’ भनेका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै जेलेन्स्कीले सिनेटका दुवै दलका प्रतिनिधिहरूसँगको बैठक फलदायी रहेको र मुख्य गरी युक्रेनको ब्यालिस्टिक रक्षा प्रणालीलाई सुदृढ बनाउने विषयमा केन्द्रित रहेको बताएका छन्। सिनेटले ८६-१२ को फराकिलो मतान्तरले रुसमाथि अहिलेसम्मकै कडा मानिएको प्रतिबन्ध प्याकेज अघि बढाउने पक्षमा मतदान गरेको हो।
यो मतदान हालै निधन भएका अमेरिकी सिनेटर लिन्डसे ग्राहमको बिदाइको दिनमै भएको थियो। ग्राहमले नै यो प्रतिबन्ध विधेयक तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। जेलेन्स्कीले ग्राहमको योजना कार्यान्वयन गर्ने दिशातर्फ यो कदम महत्त्वपूर्ण भएको टिप्पणी गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जेलेन्स्कीसँगको भेटघाटबारे सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै बैठक सकारात्मक रहेको र विभिन्न विषयमा गहन छलफल भएको बताएका छन्।
वासिङ्टन भ्रमणका क्रममा जेलेन्स्कीले अमेरिकी रक्षा सामग्री उत्पादक कम्पनी ‘लकहिड मार्टिन’ का टोलीसँग पनि भेटवार्ता गरेका छन्। ATACMS, HIMARS, F-16 विमान र ‘प्याट्रियाट’ प्रणालीका क्षेप्यास्त्र उत्पादन गर्ने यो कम्पनीसँग सह-उत्पादन, प्रविधि हस्तान्तरण र युक्रेनको हवाई रक्षा क्षमता बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले जानकारी दिएका छन्।







