काठमाडौँ — गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आज (चैत १९ गते) देखि सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। संविधानमा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्ति तयारी पूरा गरिएको छ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
आजको प्रतिनिधिसभा बैठकमा तीन अध्यादेश पेस गरिने भएका छन्। गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
बैठक सुरु हुँदै गर्दा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा सुनाउनेछन्। संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्तावसमेत पेस हुनेछ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि सदस्यहरूको मनोनयन गरिनेछ। अधिवेशन प्रारम्भका अवसरमा विभिन्न दलका सदस्यहरूले मन्तव्य राख्नेछन्। साथै, प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि मिति तोकिने महासचिव पाण्डेयले जानकारी दिए।
बैठकको अन्त्यमा पूर्वसभासद् ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसद सदस्य रहेका छन्।








