इस्लामाबाद । अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले शान्ति वार्तालाई गति दिने प्रयास गरिरहेका बेला इरानी विदेशमन्त्री अब्बास अराघची आइतबार पुनः पाकिस्तान जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरूको प्रस्तावित भ्रमण रद्द गरेको घोषणा गरे पनि अराघचीले इस्लामाबाद फर्किएर पाकिस्तानी अधिकारीहरूसँग थप परामर्श गर्ने इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानी समाचार एजेन्सी इस्नाका अनुसार विदेशमन्त्री अराघचीले पाकिस्तानी अधिकारीहरूसँगको भेटमा ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने समझदारीको ढाँचामा इरानको अडान र दृष्टिकोण’ स्पष्ट पार्नेछन्। यसअघि शनिबार मात्र इस्लामाबाद पुगेर उच्च पदस्थ अधिकारीहरूसँग स्थायी युद्धविरामका विषयमा छलफल गरी उनी ओमान प्रस्थान गरेका थिए। सोही समयमा अन्य इरानी दूतहरू भने आवश्यक निर्देशनका लागि तेहरान फर्किएका थिए। ओमानको राजधानी मस्कट उड्नुअघि अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिर, प्रधानमन्त्री शहबाज सरिफ र विदेशमन्त्री इशाक दारसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। इस्लामाबादको दोस्रो चरणको वार्तापछि उनी मस्को जाने तालिका रहेको छ।
विदेशमन्त्री अराघचीले आफ्नो प्रारम्भिक भ्रमणलाई ‘फलदायी’ भने पनि अमेरिकी नियतमाथि प्रश्न उठाएका छन्। “अमेरिका कूटनीतिको बारेमा साँच्चै गम्भीर छ कि छैन भन्ने कुरा हेर्न बाँकी छ,” उनले सञ्चारमाध्यमसँग भने।
यता, ह्वाइट हाउसले ट्रम्पका शान्ति दूत स्टिभ विटकोफ र जारेड कुश्नर वार्ताका लागि पाकिस्तान जाने तयारीमा रहेको बताए पनि राष्ट्रपति ट्रम्पले अन्तिम समयमा उक्त यात्रा रद्द गरिदिएका थिए। फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानको वार्ताका सर्तहरू चित्तबुझ्दो नभएकाले यात्रा रद्द गरेको टिप्पणी गरे। यद्यपि, त्यसको केही समयमै उनले इरानबाट परिमार्जित प्रस्ताव आएको दाबी समेत गरे। “उनीहरूले पहिले दिएको प्रस्ताव राम्रो थिएन, त्यसैले मैले प्रतिनिधिमण्डल पठाउने निर्णय रद्द गरेँ। तर त्यसको १० मिनेटभित्रै हामीले नयाँ र धेरै राम्रो प्रस्ताव पायौँ,” ट्रम्पले पत्रकारहरूसँग भने।
ट्रम्पले वार्ताका सन्दर्भमा अहिले सबै ‘कार्ड’ अमेरिकाको हातमा रहेको र इरानले चाहेको बेला आफूलाई सिधै सम्पर्क गर्न सक्ने बताएका छन्। पछिल्लो विकसित घटनाक्रमले इरान र अमेरिकाबीचको कूटनीतिक द्वन्द्व र वार्ताको प्रयासलाई थप पेचिलो बनाएको छ।








