दक्षिण कोरिया, अमेरिका र जापानको त्रिपक्षीय सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

प्योङयाङ । सेप्टेम्बर महिनामा दक्षिण कोरिया, अमेरिका र जापानले गर्न लागेको संयुक्त समुद्री सैन्य अभ्यास आफ्नो सुरक्षाका लागि “खतरा” भएको उत्तर कोरियाले जनाएको छ। उत्तर कोरियाली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वासिङ्टनको यो कदमलाई उत्तर कोरियाप्रति शत्रुतापूर्ण नीतिको निरन्तरता भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः भेटवार्ताका लागि प्रयास गरिरहेका बेला यी तीन मित्रराष्ट्रले सैन्य अभ्यासको घोषणा गरेका हुन् र उत्तर कोरियाले यसको विरोध गरेको छ। दक्षिण कोरियाको जेजु द्विपको पूर्व र दक्षिणमा पर्ने अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा सेप्टेम्बर ७ देखि ११ सम्म ‘फ्रीडम एज’ (Freedom Edge) नामक बहु-क्षेत्रीय संयुक्त सैन्य अभ्यास सञ्चालन हुनेछ। दक्षिण कोरियाले यो अभ्यास पूर्ण रूपमा रक्षात्मक प्रकृतिको भएको दाबी गरेको छ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनए (KCNA) मार्फत जारी विदेश मन्त्रालयको विज्ञप्तिमा अमेरिकाले हवाई जासुसी र विभिन्न सैन्य उक्साहटपूर्ण गतिविधिहरू निरन्तर गरिरहेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “ट्रम्प प्रशासनले उत्तर कोरियाको सार्वभौमसत्ता, राजनीतिक व्यवस्था र सुरक्षा हितलाई स्वेच्छाचारी रूपमा उल्लङ्घन गर्ने आफ्नो अपरिवर्तनीय शत्रुतापूर्ण नीतिलाई पूर्ण रूपमा पुनः पुष्टि गरेको छ।”

यस्तो स्थितिमा उत्तर कोरियाको परमाणु हतियारको भण्डार नै क्षेत्रीय शान्ति र सुरक्षा सुनिश्चित गर्ने “सबैभन्दा जिम्मेवार र सही विकल्प” भएको दाबी गर्दै उत्तर कोरियाले आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि परमाणु हतियार “परम ग्यारेन्टी” भएको स्पष्ट पारेको छ।

यसअघि, दक्षिण कोरिया र अमेरिकाले आफ्नो प्रमुख वार्षिक सैन्य अभ्यास ‘उल्छी फ्रीडम सिल्ड’ सम्पन्न गरेका थिए। राष्ट्रपति ट्रम्पले उच्च खर्च र किम जोङ उनसँगको राम्रो सम्बन्धको हवाला दिँदै उक्त अभ्यासलाई ११ दिनबाट घटाएर ५ दिनमा सीमित गर्न आदेश दिनुभएको थियो। तर, ट्रम्पको यस लचिलोपनका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण जारी राख्दै सैन्य अभ्यास र दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्री गर्ने योजनाको लगातार विरोध गर्दै आएको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x