इरानसँगको द्वन्द्वबीच ह्वाइट हाउसद्वारा ८७.६ अर्ब डलरको अतिरिक्त बजेट माग

वासिङ्टन ।  इरानसँगको जारी सैन्य तनावका कारण बढ्दो खर्च व्यवस्थापन गर्न ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड डलरको थप बजेट माग गरेको छ। इरानसम्बन्धी नीति र युद्धको प्रभावकारितालाई लिएर कङ्ग्रेसमा चर्को बहस चलिरहेका बेला यो प्रस्ताव सार्वजनिक भएको हो।

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले कङ्ग्रेसलाई पठाएको विवरणअनुसार, उक्त बजेट ‘अपरेसन एपिक फ्युरी’ को सैन्य आवश्यकताका साथै अफ्रिकामा फैलिएको इबोला नियन्त्रण र अमेरिकी किसानलाई राहत दिनका लागि लक्षित छ।

 प्रस्तावित कुल रकममध्ये ७० अर्ब डलर रक्षा मन्त्रालयका लागि छुट्याइएको छ। यसबाट सैनिक तयारी, कर्मचारीको तलब, हतियारको भण्डारण तथा गोप्य सैन्य कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ। बजेटको अन्य भागमा अमेरिकी किसानका लागि ११ अर्ब डलर र इबोला नियन्त्रणका लागि १ अर्ब ४० करोड डलर विनियोजन गरिएको छ। यसबाहेक, वासिङ्टन डीसीको पूर्वाधार विकासका लागि ५० करोड र न्युयोर्कको पेन स्टेसन नवीकरणका लागि १ अर्ब डलर माग गरिएको छ।

 इरानसँगको युद्धप्रतिको घट्दो जनसमर्थनका कारण यो बजेट प्रस्तावले कङ्ग्रेसमा कडा चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। दुवै दलका सांसदहरूले निरन्तर बढिरहेको युद्ध खर्चप्रति असन्तुष्टि पोख्दै आएका छन्।

यसैबीच, अमेरिकी सिनेटले मङ्गलबार युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित गर्दै कङ्ग्रेसको अनुमतिबिना थप सैन्य कारबाही अघि नबढाउन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको छ। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वपछिको यो कदम महत्त्वपूर्ण मानिएको छ।

यस निर्णयमा डेमोक्रेटलाई साथ दिने केही रिपब्लिकन सांसदप्रति राष्ट्रपति ट्रम्प असन्तुष्ट देखिएका छन्। सामाजिक सञ्जालमार्फत उनले ती चार रिपब्लिकन सिनेटरलाई ‘हारेका व्यक्ति’ को संज्ञा दिँदै उनीहरूले काममा अवरोध सिर्जना गरेको टिप्पणी गरेका छन्। यति हुँदाहुँदै पनि ट्रम्पले आफ्नो योजनालाई निरन्तरता दिने अडान कायमै राखेका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x