खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।
संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै छानबिन समिति गठनको आग्रह गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै दोषीलाई तत्काल कारबाही गर्न मागसहित बुधबार ज्ञापनपत्र प्राप्त भएको बताए।
गत भदौ ३० गते साँझ पञ्चमी बजारमा सञ्चालित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका कार्यालयबाट घर फर्किने क्रममा मार्से सामुदायिक वनस्थित रमिते भन्ने स्थानमा बीभत्स हत्या गरिएको अवस्थामा सोही राति शव फेला परेको थियो।
प्रारम्भिक तथ्यहरूले रेश्मिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि हुँदै गर्दा पनि हालसम्म अभियुक्तहरू पक्राउ नपरेको भन्दै पीडित परिवार तथा दलित अधिकारकर्मीहरूले आरोप लगाउँदै आएका छन्।
ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिहरू समाजमा खुलेआम हिँडिरहेकाले पीडित परिवारले असुरक्षा महसुस गरेको उल्लेख गर्दै उनीहरूलाई तत्काल सुरक्षा प्रदान गर्न समेत ध्यानाकर्षण गराइएको छ।
संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालले पीडित परिवारको सुरक्षा चिन्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले बलात्कारपछि हत्याजस्तो जघन्य घटनाको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन्। उनले कुनै पनि दबाब वा प्रभावबिना सत्यतथ्य सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको जनाइन्।








