सुदूरपश्चिम । सशस्त्र प्रहरी बलका महानिरीक्षक पौडेलले सोमबार सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालको वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया लगायत कैलालीका सीमावर्ती क्षेत्रमा रहेका विभिन्न सुरक्षा गुल्म र नाकाहरूको अनुगमन तथा निरीक्षण गरे। यस क्रममा उनले सीमा क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूसँग सीमा सुरक्षाको वर्तमान अवस्थाबारे अन्तरक्रिया गरेको सशस्त्र प्रहरी नं. ३४ गण, धनगढीका प्रमुख उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।
निरीक्षणअघि पौडेलले गौरीफन्टा नाकाको भ्रमण गरी त्यहाँको यथार्थ अवस्था बुझेका थिए र सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा समस्या, अपराध नियन्त्रण र नागरिक सुरक्षाप्रति गम्भीर रहेको बताएका थिए।
उनले सीमापारिबाट हुने अपराध, चोरी-पैठारी र अवैध निकासी रोक्न प्रभावकारी भूमिका खेल्न सम्बन्धित निकायलाई निर्देशन दिँदै सरकारको भ्रष्टाचार-शून्य सहनशीलता नीति पूर्ण रूपमा पालना गर्न आग्रह गरे।
युवा पुस्ता लागुऔषधको लतमा फस्दै गएको र यसले अन्य अपराध पनि बढाउन सक्ने भन्दै पौडेलले लागुऔषध ओसारपसार नियन्त्रणमा थप सक्रियता अपनाउन निर्देशन दिए। सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन क्रमशः डिजिटल प्रणालीतर्फ लैजाने तयारी भइरहेको पनि उनले जानकारी दिए।
ड्युटीमा खटिँदा कर्मचारीले इमानदारी, सक्रियता र व्यावसायिकता देखाउनुपर्ने बताउँदै नियम, कानुन र आचारसंहिता उल्लङ्घन गर्नेमाथि कडा कारबाही हुने पौडेलले स्पष्ट पारे। साथै मौसमी प्रकोपबाट हुनसक्ने जनधनको क्षति कम गर्न नागरिकसँग २४ घण्टै समन्वय कायम राख्न र विपद्को बेला तत्काल आवश्यक सामग्रीसहित परिचालित हुन पनि निर्देशन दिइयो।
भ्रमणका क्रममा पौडेलले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग जिल्लाको सुरक्षा अवस्था र व्यवस्थापनका विषयमा छलफल पनि गरे।








