हर्मुज जलघाँटी बन्द गर्ने इरानको चेतावनी: ऊर्जा आपूर्तिमा थप जोखिम

तेहरान । इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्ना ‘आक्रमणकारी गतिविधि’ नरोकेसम्म हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ। विश्वको ऊर्जा पारवहनको प्रमुख मार्ग मानिने यस क्षेत्रमाथिको इरानी चेतावनीले अन्तर्राष्ट्रिय बजारमा थप हलचल ल्याएको छ।

 फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका–इरान द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुँदै आएको तेल तथा ग्यास ढुवानी प्रभावित भएको छ। आइआरजिसीले अमेरिकी आक्रमणको जवाफमा बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरिएको उल्लेख गर्दै, अमेरिकाको हितसँग जोडिएका अन्य ऊर्जा निर्यात मार्गहरू पनि आफ्नो निशानामा पर्न सक्ने चेतावनी दिएको छ।

 आइआरजिसीले जारी गरेको विज्ञप्तिमा विश्वव्यापी तेल तथा ग्यास आपूर्ति शृङ्खलामा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाइएको छ। साथै, अमेरिका र तिनका सहयोगी राष्ट्रहरूले प्रयोग गर्ने ऊर्जा मार्गहरू समेत अवरुद्ध हुन सक्ने चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ, “यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात या त सबैका लागि हुनेछ वा कसैका लागि पनि हुनेछैन”। यद्यपि, कुन–कुन मार्गलाई लक्षित गरिएको हो भन्नेबारे इरानले कुनै विवरण खुलाएको छैन।

 यता, अमेरिकी अधिकारीहरूले हर्मुज जलघाँटीमा इरानको पूर्ण नियन्त्रण हुने दाबीलाई खारेज गरेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुद्री मार्गहरू खुला राख्न आवश्यक सबै प्रकारका सैन्य र रणनीतिक कदम चालिने प्रतिबद्धता दोहोर्‍याएका छन्।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x