पर्वतमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ४६ बङ्गुरको मृत्यु

काठमाडौं । पर्वत जिल्लाका विभिन्न व्यावसायिक बङ्गुर फार्महरूमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । सदरमुकाम वरपरका क्षेत्रमा गरिएको परीक्षणमा यो रोग पुष्टि भएसँगै किसान तथा बङ्गुरपालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार हालसम्म यस रोगका कारण ४६ वटा बङ्गुर मरेका छन् । कुश्मा नगरपालिका क्षेत्रमा रहेका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग निलो हुने, दाना नखाने र अचानक मृत्यु हुने लक्षण देखिएपछि कार्यालयले नमूना सङ्कलन गरेको थियो ।

सोही नमूनाको र्यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार थप पुष्टिका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको छ।

रोग फैलिन नदिन कार्यालयले सङ्क्रमित क्षेत्रमा अनुगमन तीव्र पारेको छ र किसानहरूका लागि आवश्यक सुझाव जारी गरेको छः

प्रथम ः सरसफाइमा ध्यान दिनेः बङ्गुर पालनस्थल सधैँ सफा राख्ने र चुन, ब्लिचिङ पाउडर, फर्मालिनजस्ता औषधि प्रयोग गरेर नियमित रूपमा निसङ्क्रमण गर्ने ।दोस्रो ः बिरामी बङ्गुर छुट्टै राख्नेः रोगका लक्षण देखिएका बङ्गुरलाई स्वस्थ बङ्गुरभन्दा अलग्गै राख्ने ।

तेस्रो ः परीक्षण गराउनेः कुनै पनि शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना तुरुन्त प्रयोगशालामा परीक्षण गराउने ।

चौथो ः मृत बङ्गुरको व्यवस्थापनः मरेका बङ्गुरलाई गहिरो खाडल खनेर पुरिने वा जलाउने ।

पाचौं ः जङ्गली बङ्गुरको सम्पर्क रोक्नेः घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिने ।

छैठौं ः खानेकुरामा सावधानीः होटल तथा भान्साबाट निस्कने फोहर (झोल) बङ्गुरलाई खुवाउन निषेध गरिएको छ ।

पर्वतका विभिन्न पालिकाहरूमा ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म रहेका छन् । हाल सदरमुकाम आसपास मात्र रोग पुष्टि भए पनि आवश्यक सतर्कता नअपनाए यसले अन्य क्षेत्रमा समेत सङ्क्रमण फैलाउन सक्ने भएकाले किसानहरूलाई जैविक सुरक्षाका उपायहरू कडाइका साथ पालना गर्न आग्रह गरिएको छ ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x