जर्मनीबाट ठूलो संख्यामा अमेरिकी सैनिक घटाउने ट्रम्पको घोषणा, युरोपेली सुरक्षामा हलचल

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ अमेरिकी सैनिकहरूको सङ्ख्यामा भारी कटौती गर्ने घोषणा गरेका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसअघि चर्चामा आएको ५ हजारको संख्याभन्दा धेरै ठूलो मात्रामा सैनिक फिर्ता लैजाने बताएका हुन्।

ट्रम्पले रक्षा मन्त्रालयले यसअघि तय गरेको योजनाभन्दा व्यापक कटौती हुने सङ्केत दिँदै भने, “हामी ठूलो मात्रामा सैनिक कटौती गर्दैछौँ, र यो संख्या ५ हजारभन्दा धेरै हुनेछ।”

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले अमेरिकी निर्णय अपेक्षित रहेको बताएका छन्। उनले युरोपेली मुलुकहरूले अब आफ्नो रक्षा क्षमतामा थप जिम्मेवारी लिनुपर्ने समय आएकोमा जोड दिए। यद्यपि, उनले अमेरिका र युरोपबीचको सुरक्षा साझेदारी दुवै पक्षको हितमा रहेको उल्लेख गर्दै सहकार्यको आवश्यकतालाई औँल्याए।जर्मनीमा अमेरिकी सैनिकको उपस्थिति लामो समयदेखि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) अन्तर्गत युरोपेली सुरक्षा संरचनाको मेरुदण्ड मानिँदै आएको छ।

 ट्रम्पको यो कदमलाई लिएर वासिङ्टनमा राजनीतिक मतविभाजन देखिएको छ। रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका कतिपय नेताहरूले यस निर्णयको आलोचना गरेका छन्। उनीहरूले जर्मनीबाट सैन्य उपस्थिति घटाउँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रणनीतिक लाभ पुग्ने र मस्कोलाई गलत सन्देश जाने चेतावनी दिएका छन्। ट्रम्प प्रशासनले युरोपेली देशहरूको रक्षा र व्यापार नीतिको आलोचना गर्दै आएको छ। युरोपेली सङ्घ (ईयू) सँगको व्यापार सम्झौता कार्यान्वयनमा ढिलाइ भएको आरोप लगाउँदै अमेरिकाले युरोपेली गाडी तथा ट्रकहरूमा भन्सार शुल्क बढाउने तयारी समेत गरेको छ।

विश्लेषकहरूका अनुसार यो सैन्य कटौतीले अमेरिका र युरोपको दशकौँ पुरानो सम्बन्धमा चिसोपन ल्याउन सक्ने र क्षेत्रीय सुरक्षा सन्तुलनमा नयाँ चुनौतीहरू थप्न सक्ने देखिएको छ। ट्रम्पको यो नीतिले ‘अमेरिका फस्ट’ (अमेरिका पहिलो) को एजेन्डालाई थप बल पुर्‍याए पनि अन्तर्राष्ट्रिय गठबन्धनमा भने संशय पैदा गरेको छ।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x