वासिङ्टन/रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटीमा व्यावसायिक जहाजहरूलाई सुरक्षा दिने उद्देश्यले ल्याएको महत्त्वाकांक्षी नौसैनिक योजना ‘प्रोजेक्ट फ्रिडम’ तत्कालका लागि स्थगित गरेका छन्। खाडी क्षेत्रको प्रमुख साझेदार साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न र प्रिन्स सुल्तान एयरबेस सञ्चालन गर्न अनुमति नदिएपछि यो योजना रोकिएको हो।
एनबिसी न्युजले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, ट्रम्प प्रशासनले यो सैन्य योजनाबारे खाडीका सहयोगी राष्ट्रहरूसँग पूर्वपरामर्श गरेको थिएन। पर्याप्त समन्वयविना नै योजना सार्वजनिक गरिएकाले साउदी अरेबिया र अन्य क्षेत्रीय मुलुकहरूले यसमा असहमति जनाएका हुन्।
योजना कार्यान्वयनका लागि राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन संवादमार्फत सहयोग मागेका थिए। यद्यपि, रियादले प्रत्यक्ष सैन्य मुठभेड निम्तिने जोखिम औंल्याउँदै आफ्नो भूभाग र हवाई मार्ग प्रयोग गर्न दिन अस्वीकार गर्यो। साउदी स्रोतका अनुसार उसले सैन्य तनावभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिएको छ।
रियादले हाल अमेरिका र इरानबीच मध्यस्थताका लागि पाकिस्तानले गरिरहेको कूटनीतिक पहललाई समर्थन गरिरहेको छ। विश्लेषकहरू यसलाई खाडी क्षेत्रमा बढ्दो अस्थिरताबीच साउदीले प्रत्यक्ष सैन्य संलग्नताबाट टाढै बस्न खोजेको संकेतका रूपमा लिन्छन्।
ह्वाइट हाउसले क्षेत्रीय सहयोगीहरूलाई पूर्वजानकारी दिएको दाबी गरे पनि एक पश्चिम एसियाली कूटनीतिज्ञले त्यसको खण्डन गरेका छन्। उनका अनुसार अमेरिकाले पहिले योजना घोषणा गर्ने र त्यसपछि मात्र ओमानलगायतका देशसँग समन्वय खोज्ने शैली अपनाएकाले साझेदारहरूमाझ असहजता पैदा भएको थियो।
अमेरिकाले योजना स्थगित गरेको भोलिपल्टै इरानले हर्मुज जलघाँटीमा व्यावसायिक जहाजहरूलाई आवश्यक सम्पूर्ण सहायता उपलब्ध गराउने घोषणा गरेको छ। इरानको बन्दरगाह तथा समुद्री संगठनले विज्ञप्ति जारी गर्दै समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा र इन्धन आपूर्तिका लागि आफ्नो संयन्त्र सक्रिय पारिएको जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यम आइआरएनएका अनुसार, तेहरानले समुद्री सञ्चार प्रणालीमार्फत सबै जहाजहरूलाई यो सूचना पठाएको छ। इरानले यसलाई ‘सुरक्षित समुद्री यातायात कायम राख्ने राष्ट्रिय जिम्मेवारी’ भएको दाबी गरेको छ।
राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत पाकिस्तानको आग्रहमा ‘प्रोजेक्ट फ्रिडम’ रोक्ने निर्णय लिएको बताएका छन्। उनले अमेरिका र इरानबीच सम्भावित समझदारीको दिशामा प्रगति भइरहेको र तनाव कम गर्न यो निर्णय आवश्यक रहेको तर्क गरे। ट्रम्पले अमेरिका रणनीतिक रूपमा लाभको स्थितिमा रहेको दाबी गर्दै इरानसँगको अन्तिम सहमति परीक्षण गर्न यो विराम दिइएको उल्लेख गरेका छन्।
विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने हर्मुज जलघाँटीमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारलाई प्रत्यक्ष प्रभावित पार्ने गर्छ। साउदीको पछिल्लो अडान र पाकिस्तान तथा ओमानको कूटनीतिक सक्रियताले पश्चिम एसियामा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ।








