गाजा पुनःनिर्माण र निःशस्त्रीकरण: अमेरिकी दूत कुशनर र इजरायली प्रधानमन्त्री नेतान्याहूबीच चार घण्टा वार्ता

वासिङ्टन । गाजाको पुनःनिर्माण, निःशस्त्रीकरण र इजरायलको सुरक्षा चासोका विषयमा अमेरिकी विशेष दूत जेरेड कुशनर र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच करिब चार घण्टा लामो वार्ता भएको छ। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा कुशनरले बैठकमा महत्त्वपूर्ण प्रगति भएको र नेतान्याहूले उठाएका केही जायज चिन्ताहरूलाई सम्बोधन गरिएको जानकारी दिए।

कुशनरका अनुसार प्रस्तावित योजनालाई लिएर फैलिएका भ्रम र गलत सूचनाहरूलाई पनि बैठकका क्रममा स्पष्ट पारिएको छ। “हामीले उनका (नेतान्याहू) र उनको टोलीसँग लगभग चार घण्टा बिताएर सबै विवरणहरूमा छलफल गर्‍यौँ,” कुशनरले भने, “उनीहरूले उठाएका केही जायज चिन्ताहरूलाई हामीले सम्बोधन गर्न सक्यौँ।”

अमेरिका गाजाको पुनःनिर्माणप्रति प्रतिबद्ध रहे पनि निःशस्त्रीकरण नभएसम्म पुनःनिर्माणको काम सुरु हुन नदिने कुशनरले स्पष्ट पारे। उनले आतङ्कवादीहरूले कब्जा गर्ने वा पुनः ध्वस्त पार्ने जोखिम रहेसम्म कसैले पनि लगानी नगर्ने बताए।

यस्तै, यो योजनाले इजरायलको रक्षा गर्ने अधिकारलाई सीमित नगर्ने पनि उनले बताए। आगामी ३० दिनभित्र हतियारहरू हटाउने र ६० देखि ९० दिनभित्र भूमिगत सुरुङहरू पुर्ने काम सुरु हुन सक्ने अनुमान गरिएको छ।

कुशनरले यो प्रस्तावलाई इजरायलका लागि दुवै तर्फबाट फाइदाजनक स्थिति (विन-विन) को रूपमा वर्णन गरे। यदि हमासले स्वेच्छाले हतियार र सुरुङहरू बुझाएमा इजरायलका लागि ठूलो सुरक्षा खतरा अन्त्य हुनेछ। तर, हमासले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेमा उसले शान्ति नचाहेको प्रमाणित हुने र इजरायलले अमेरिका तथा अन्तर्राष्ट्रिय समुदायबाट थप समर्थन पाउने कुशनरको दाबी छ।

यसअघि, सीएनएनले जनाएअनुसार कुशनरले नेतान्याहूलाई ट्रम्प प्रशासनद्वारा समर्थित गाजा युद्धविराम प्रस्तावलाई अगाडि बढाउन र अवरोध नगर्न आग्रह गरेका थिए। तर, नेतान्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने आफ्नो अडान दोहोर्‍याएका थिए। नेतान्याहूले ट्रम्प प्रशासनको १५ बुँदे युद्धविराम योजनालाई अस्वीकार गरेपछि यो बैठक भएको हो। कुशनरले आइतबार इजिप्टको अल अलामेनमा हमास नेता खलिल अल-हैयासँग पनि भेटघाट गरेका थिए।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x