सिंगापुर । जापानका रक्षामन्त्री शिनजिरो कोइजुमीले बेइजिङको चर्को आलोचनाका बाबजुद आफ्नो देशको सैन्य क्षमतालाई निरन्तर सुदृढ पार्ने प्रतिबद्धता जनाएका छन्। सिंगापुरमा जारी वार्षिक ‘शाङ्ग्री-ला डायलोग’ मा बोल्दै उनले जापानको आक्रामक सुरक्षा नीतिको बचाउ गरे।
प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा जापानले आफ्नो दोस्रो विश्वयुद्धकालीन शान्तिवादी नीतिलाई परिमार्जन गर्दै सक्रिय रक्षा नीति अवलम्बन गरेपछि चीनले जापानमाथि ‘नयाँ सैन्यवाद’ को बाटो रोजेको आरोप लगाउँदै आएको छ। चिनियाँ आरोपको खण्डन गर्दै रक्षामन्त्री कोइजुमीले उक्त दाबी सत्यभन्दा निकै टाढा रहेको टिप्पणी गरे। चीनको नाम नलिई उनले विशाल आणविक हतियार र रणनीतिक बमवर्षक विमान भएको देशले जापानजस्तो हतियारविहीन देशलाई सैन्यवादको आरोप लगाउनु अनौठो भएको बताए।
प्रधानमन्त्री ताकाइचीले गत नोभेम्बरमा चीनले ताइवानमाथि सैन्य बल प्रयोग गरेमा जापानले पनि सैन्य हस्तक्षेप गर्न सक्ने सङ्केत गरेपछि दुई देशबिचको कूटनीतिक विवाद थप चर्किएको हो। रक्षामन्त्री कोइजुमीले चीनले अपारदर्शी रूपमा सैन्य क्षमता विस्तार गरिरहेको भन्दै त्यसलाई जापानको सुरक्षाका लागि गम्भीर चिन्ताको विषय भएको बताए।
बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न जापानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मानवरहित प्रणाली (ड्रोन), साइबर तथा अन्तरिक्ष रक्षाका क्षेत्रमा उच्च पारदर्शिताका साथ आफ्नो रक्षा क्षमतालाई निरन्तर अद्यावधिक गर्ने उनले स्पष्ट पारे।
एसियाकै प्रमुख सुरक्षा मञ्च मानिने शाङ्ग्री-ला डायलोगमा यस वर्ष करिब ४५ देशका सुरक्षा अधिकारी र विज्ञहरूको सहभागिता रहेको छ। जापान र अमेरिकाले उच्च स्तरीय प्रतिनिधित्व गराए पनि चीनले भने लगातार दोस्रो वर्ष आफ्नो प्रतिनिधिमण्डलको स्तर घटाएको छ। चिनियाँ रक्षामन्त्री डोङ जुन यस पटकको बैठकमा सहभागी भएका छैनन्। चिनियाँ रक्षामन्त्रीको अनुपस्थितिका कारण यस पटक द्विपक्षीय छलफल गर्ने अवसर नपाएकोमा जापानी रक्षामन्त्री कोइजुमीले दुःख व्यक्त गरे।








