ढाका । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान सेवा (विमान बङ्गलादेश एयरलाइन्स) को आधुनिकीकरण र विस्तारका लागि अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग ३ अर्ब ७० करोड अमेरिकी डलर बराबरको खरिद सम्झौता गर्ने भएको छ। सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार आगामी एक दशकभित्र १४ वटा नयाँ विमान भित्र्याउने गरी बिहीबार साँझ ढाकामा औपचारिक हस्ताक्षर हुने कार्यक्रम छ।
यो सम्झौतालाई बङ्गलादेशको उड्डयन इतिहासकै सबैभन्दा ठूलो ‘फ्लीट’ विस्तार योजनाका रूपमा लिइएको छ। प्रस्तावित खरिद योजनामा आठ वटा बोइङ ७८७–१० ड्रीमलाइनर, दुई वटा ७८७–९ ड्रीमलाइनर र चार वटा ७३७–८ म्याक्स विमान समावेश छन्। हाल बङ्गलादेश एयरलाइन्ससँग १९ वटा विमान सञ्चालनमा रहेका छन्, जसमध्ये १४ वटा बोइङकै उत्पादन हुन्।
यो सम्झौता केवल व्यावसायिक विस्तारमा मात्र सीमित नभई अमेरिका र बङ्गलादेशबीचको व्यापारिक तथा कुटनीतिक सन्तुलन कायम गर्ने रणनीतिका रूपमा समेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बङ्गलादेशी वस्तुमा उच्च भन्सार शुल्क लगाउने चेतावनी दिएपछि ढाकाले यो खरिद प्रक्रिया अघि बढाएको हो।
विशेष गरी बङ्गलादेशको अर्थतन्त्रको मेरुदण्ड मानिने रेडिमेड गार्मेन्ट क्षेत्रलाई अमेरिकी करको प्रभावबाट जोगाउन यो कदम चालिएको विश्लेषण गरिएको छ। बङ्गलादेशको कुल निर्यातको करिब २० प्रतिशत हिस्सा ओगट्ने अमेरिकी बजारमा ३७ प्रतिशतसम्म पुग्न सक्ने करको दरलाई यो सम्झौतापश्चात् २० प्रतिशतमा कायम गर्न सहमति जुटेको छ।
बङ्गलादेशले बोइङसँगको साझेदारीलाई प्राथमिकता दिएसँगै युरोपेली प्रतिस्पर्धी कम्पनी एयरबसको बजार विस्तारमा धक्का लागेको छ। यसअघि एयरबससँग विमान खरिदका विषयमा भएका प्रारम्भिक छलफलहरू यो सम्झौतापछि करिब अन्त्य भएका छन्।
सुरुमा २५ वटा विमान खरिद गर्ने प्रस्ताव गरिए पनि मुलुकको वर्तमान आर्थिक परिस्थिति र आवश्यकतालाई मध्यनजर गर्दै १४ वटामा खुम्च्याइएको छ। सन् २०२४ को राजनीतिक अस्थिरतापश्चात् गठित अन्तरिम सरकारले गत अगस्टमा यस योजनालाई स्वीकृति दिएको थियो भने फेब्रुअरी २०२६ मा निर्वाचित नयाँ सरकारले यसलाई कार्यान्वयनमा ल्याएको हो।विमान खरिदका अतिरिक्त बङ्गलादेशले अमेरिकाबाट गहुँ, कपास र तेलको आयात समेत बढाउने प्रतिबद्धता जनाएको छ। यसले गर्दा पछिल्लो समय केही शिथिल बनेको बङ्गलादेशी गार्मेन्ट उद्योग र समग्र अर्थतन्त्रलाई राहत पुग्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ।








