वेलिङ्टन । बालबालिकालाई इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई सोसल मिडिया प्रयोगमा प्रतिबन्ध लगाउने कानुन प्रस्ताव गरेको छ।
अष्ट्रेलियाले गत डिसेम्बरमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो कानुन लागू गरेपछि बेलायत, फ्रान्स र न्युजिल्यान्डले पनि सोही कदम पछ्याएका हुन्।
न्युजिल्यान्डको प्रस्तावित कानुन उल्लङ्घन गर्ने वा उमेर हद पालना गराउन असफल हुने मेटाजस्ता प्रविधि कम्पनीहरूलाई उनीहरूको विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना गराउन सकिने प्रावधान राखिएको छ।
प्रधानमन्त्री क्रिष्टोफर लक्सोनले न्युजिल्यान्डका बालबालिकाहरूलाई भइरहेको क्षतिलाई सरकारले हेरेर बस्न नसक्ने बताएका छन्। उनले भने, “१३ देखि १७ वर्ष उमेर समूहका प्रत्येक तीनमध्ये एक जना बालबालिकाले दिनमा कम्तीमा पाँच घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्।”
प्रधानमन्त्री लक्सोनले इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट र फेसबुकजस्ता प्लेटफर्महरूलाई प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी भएको सुनिश्चित गर्न “उपयुक्त कदम” चाल्न निर्देशन दिइने स्पष्ट पारे। उमेर प्रमाणीकरणका लागि कम्पनीहरूले खाताको विवरण, अनुहारको उमेर अनुमान गर्ने प्रविधि (फेसियल एज एस्टिमेशन) र डिजिटल वा औपचारिक परिचयपत्र प्रयोग गर्नुपर्नेछ।
सञ्चार माध्यमहरूका अनुसार यो विधेयक संसद्बाट पारित हुने वा नहुने भन्नेमा अझै अन्योल छ। सरकारका गठबन्धन साझेदार दलहरू ‘एक्ट’ र ‘एनजेट फर्स्ट’ ले यसको विरोध गरेका छन्। उता मुख्य विपक्षी दल लेबर पार्टीले भने समर्थन गर्नुअघि उमेर प्रमाणीकरणको प्रक्रियाबारे स्पष्ट पार्न सरकारसँग माग गरेको छ।








