काठमाडौँ, ११ वैशाख – राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणालीमा अनाधिकृत पहुँच गरी ठेक्काको विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज पाण्डेलाई पक्राउ गरेको हो। उनीसँगै भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठ पनि पक्राउ परेका छन्।
सिआइबीका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको दस्तावेज परिवर्तन गरेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो। पाण्डेमाथि हाल सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस मुद्दामा हालसम्म नौ जना शङ्कास्पद व्यक्तिहरू पक्राउ परी अनुसन्धानमा रहेको सिआइबी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।








