वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशभित्रै खपत गर्ने योजना

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा बढी उत्पादन हुने विद्युत् देशभित्रै उपयोग गर्न सकिने गरी महसुल व्यवस्थामा सुधार ल्याउने तयारी भइरहेको जनाएका छन्। यसअन्तर्गत मौसमी आधारमा महसुल घटाउने र बढी विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दिने योजना छ।
विराटनगरमा मोरङ उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्गठनका प्रतिनिधिसँग भएको भेटमा मन्त्री श्रेष्ठले यी कुरा बताएका हुन्। सरकारको उद्देश्य उद्योगको उत्पादन लागत घटाउनु, विद्युत् खपत बढाउनु र प्रणालीमा रहेको अतिरिक्त विद्युत् स्वदेशमै उपयोगमा ल्याउनु रहेको श्रेष्ठले उल्लेख गरे।
सुनसरी–मोरङ क्षेत्रमा नौवटा नयाँ सबस्टेसन थपिँदै रहेको र यसले क्षेत्रमा विद्युत् आपूर्तिलाई थप भरपर्दो बनाउने अपेक्षा मन्त्रीले व्यक्त गरे। “उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत् क्षमता, प्रसारण लाइन र आपूर्ति संरचनाको उपलब्धताबारे स्पष्ट जानकारी प्राप्त हुने व्यवस्था आवश्यक छ,” श्रेष्ठले भने।
छलफलमा उद्योगी–व्यवसायीले विद्युत् आपूर्तिमा तत्काल सुधार, बर्जु र केरौन सबस्टेसनको छिटो निर्माण, तथा कटहरी औद्योगिक क्षेत्रमा पूर्वाधार विस्तारको माग राखे। आवश्यक अनुमति र पूर्वाधार सुनिश्चित भए ५ देखि ५० मेगावाटसम्म खपत गर्ने गरी लगानी गर्न तयार रहेको उनीहरूले जनाए।
यसबाहेक ठूला पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादन गर्ने अनुमति, ट्रान्सफर्मर तथा केबलको गुणस्तर परीक्षण प्रभावकारी बनाउने र विद्युत्मा लाग्ने मूल्य अभिवृद्धि कर हटाउने माग पनि उद्योगीहरूले राखे। यसो भए उत्पादन लागत घट्ने र नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ्ने उनीहरूको भनाइ थियो।

Shares
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

अन्य समाचार

0
Would love your thoughts, please comment.x
()
x