रूपन्देही । भोटेकोशी बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकहरूको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए सङ्कलन तथा परीक्षण कार्यलाई तीव्र बनाएको छ।
शव पहिचानमा हुन सक्ने त्रुटि हटाउन प्रहरीले आधुनिक ‘फोरेंसिक’ डिएनए प्रोफाइलिङ विधि प्रयोग गरी व्यवस्थित रूपमा नमुना परीक्षण अघि बढाएको छ। सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय फोरेंसिक विज्ञान प्रयोगशालामा बाढी प्रभावित क्षेत्र र मृतकका आफन्तहरूबाट सङ्कलन गरिएका डिएनए नमुनाहरूको परीक्षण भइरहेको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछि खोज, उद्धार र शव पहिचानलाई प्राथमिकतामा राखिएको बताए।
प्रयोगशाला प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार सङ्कलित नमुनाहरूलाई सुरक्षित राख्दै डिएनए परीक्षणका सबै मापदण्ड पूरा गरेर टोलीले २४ सै घण्टा काम गरिरहेको छ।
फोरेंसिक परीक्षणका लागि हालसम्म प्रयोगशालामा कूल १,२४० नमुना प्राप्त भएका छन्। जसमा मृतकका आफन्त र अन्य स्रोतबाट ८०८ रगतका नमुना, मृतकका दाँत र हड्डीका ३४८ नमुना र औँठाछापसम्बन्धी ८४ नमुना रहेका छन्।
शव पहिचानका लागि हालसम्म मृतकका १,२८६ र आफन्तका १,४१२ गरी कूल २,६७८ डिएनए नमुना सङ्कलन भइसकेका छन्। जसमा चितवनबाट ३५४, नवलपरासी पश्चिमबाट २१३, नुवाकोटबाट २०७, नवलपरासी पूर्वबाट १९९, रसुवाबाट १३४, धादिङबाट ७०, गोर्खाबाट ७१ र तनहुँबाट ३८ वटा नमुना सङ्कलन गरिएका छन्।
नेपाल प्रहरी अस्पतालमा मात्रै हालसम्म मृतकका आफन्तबाट ९९० नमुना सङ्कलन भइसकेको र अन्य जिल्लाहरूबाट पनि नमुना सङ्कलनको काम जारी रहेको प्रहरीले जनाएको छ।








