किभ । रुसले युक्रेनका विभिन्न सहरहरूमा गरेको शक्तिशाली क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। मस्कोले युक्रेनमा ‘नयाँ र ठुलो आक्रमण’ को तयारी गरिरहेको भनी युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चेतावनी दिएको केही दिनमै यो घटना भएको हो।
सन् २०२२ मा सैन्य आक्रमण सुरु गरेयता रुसले युक्रेनमाथि निरन्तर बमबारी गर्दै आएको छ, जसको जवाफमा युक्रेनले पनि रुसी क्षेत्रमा प्रतिआक्रमण गर्ने गरेको छ। दोस्रो विश्वयुद्धपछिको यो सबैभन्दा घातक युरोपेली द्वन्द्व अन्त्यका लागि हुने भनिएका शान्ति वार्ताहरू हाल ठप्प छन्।
युक्रेनको राजधानी किभमा रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा धेरै ठाउँमा आगलागी भएको र केही जिल्लाहरूको विद्युत् आपूर्ति बन्द भएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। किभका मेयर भिटाली क्लित्स्कोका अनुसार यस ‘सामूहिक शत्रुतापूर्ण आक्रमण’ मा दुई जना बालबालिकासहित कम्तीमा ५८ जना घाइते भएका छन् भने चार जनाको ज्यान गएको छ। आक्रमणको समयमा किभको केन्द्र भागबाट धुवाँको ठुलो मुस्लो निस्किएको थियो भने सर्वसाधारणहरू सुरक्षाका लागि बङ्कर र आश्रयस्थलतर्फ भागेका थिए।
राजधानी बाहिर पनि रुसी आक्रमणले मानवीय क्षति पुर्याएको छ। ड्निप्रो सहरमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको त्यहाँका गभर्नर ओलेक्सान्डर गान्झाले बताए। यस्तै, खार्किभ सहरमा एक बालकसहित १० जना घाइते भएको मेयर इगोर तेरेखोभले जानकारी दिएका छन्।
अर्कोतर्फ, युक्रेनले गरेको ड्रोन आक्रमणमा परी रुसको कुस्र्क क्षेत्रमा एक जनाको मृत्यु भएको छ भने क्रास्नोदार सहरमा रहेको एक तेल प्रशोधन केन्द्रमा आगलागी भएको रुसी अधिकारीहरूले दाबी गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबार नै रुसले ठुलो हवाई आक्रमणको तयारी गरिरहेको गुप्तचरी सूचना आएको भन्दै नागरिकहरूलाई सतर्क रहन र आफ्नो ज्यान जोगाउन आग्रह गरेका थिए। उनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई आकाशमै रोक्न सक्ने अमेरिकी ‘प्याट्रियट’ मिसाइल प्रणाली आपूर्ति र वित्तीय सहयोगका लागि आफ्ना सहयोगी राष्ट्रहरूसँग पुनः अपिल गरेका छन्। जेलेन्स्कीले गत साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अमेरिकी कङ्ग्रेसलाई पत्र लेख्दै यी रक्षा प्रणालीहरू उपलब्ध गराउन माग गरेका थिए।
युक्रेनी वायुसेनाको तथ्याङ्क अनुसार रुसले गत मे महिनामा मात्रै युक्रेनतर्फ रेकर्ड सङ्ख्यामा ८,१५० वटा लामो दूरीका ड्रोनहरू प्रहार गरेको थियो, जुन अप्रिलको तुलनामा २४ प्रतिशतले बढी हो। त्यसमध्ये करिब ९० प्रतिशत ड्रोन र क्षेप्यास्त्रहरूलाई युक्रेनी हवाई रक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएको दाबी गरिएको छ।








