काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक १९.३४ अङ्कले घटेको छ। नेप्से आज २,६२२.४८ विन्दुमा बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १३ मध्ये १२ उपसमूहको सूचक घट्दा एउटा मात्र उपसमूह बढेको छ। कुल २१८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ कम्पनीको मूल्य बढेको र पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारमा एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.५५ अङ्कले घटेर ४६१.०९ विन्दुमा झरेको छ।
आज सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ता लाभमा रहे। सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले भने मूल्य घट्दा घाटा व्यहोरे।








